राष्ट्रिय सभामा गठबन्धनको ‘भूमरी’:  दुई वर्षपछि त ‘शून्य’ हुनसक्छ एमाले 

Breaknlinks
Breaknlinks

संसद अनि सरकारतिर नेकपा एमालेको ‘जगजगी’ कस्तो थियो भनेर २०७४ को निर्वाचन हेरेपुग्छ। माओवादी पनि मिसिएको ‘नेकपा’भित्र एमालेतिरकै धेरै दबदबा थियो। पछि यी दुई आ–आफ्नै पार्टीको हैसियतमा फर्किए। 

भारतीय ‘नाकाबन्दी’लाई अलि ठाडै भाषामा चुनौती दिएका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको पार्टीलाई त्यो चुनावमा मतदाताले राम्रै पत्याए। 

सात सय ५३ स्थानीय तहमा दुई सय ९४ स्थानीय तहमा एमाले विजयी भयो। सातै प्रदेशमा एमाले पहिलो दल बन्यो। संघको प्रतिनिधिसभामा प्रत्यक्षमा ८० सिट जित्दै एमाले पहिलो बन्दा राष्ट्रियसभा पनि २७ सिट जितेर एमाले नै पहिलो दल बन्यो। 

अहिले दलहरू राष्ट्रियसभाको निर्वाचनको संघारमा छन्। यही माघ ११ गते ६ वर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ। जसका लागि दलहरूले उम्मेदवारी मनोनयन दर्ता गरिसकेका छन्। 

तर अहिले एमालेको दबदबा २०७४ को जस्तो छैन। निर्वाचनको रौनक अन्य दललाई जसरी लागिरहेको छ, त्यो भन्दा पर छ एमाले। २०७४ पछि एमाले जसरी सत्ताको बागडोर सम्हाल्न पुगेको थियो अहिले सबै ठाउँमा ‘प्रतिपक्ष’ भएर बसेको छ। 

यतिमात्रै होइन, अझै निरास हुने दिन आइरहेको छ एमालेका लागि। माग ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा चार दलीय (काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल) गठबन्धन हुँदा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ।

एक्लै चुनावी मैदानमा हुँदा राष्ट्रियसभाको यो निर्वाचनमा पराजयको डर एमालेका उम्मेदवारलाई छ। किनकी चार दलीय गठबन्धनको मतभार एमालेभन्दा धेरै छ। मतभार कम भएमा खाली हुन लागेको १९ सिटमा एमालेका एकजना पनि आउने सम्भावना छैन, गठबन्धन दलहरूको आन्तरिक ‘किचलो’ चर्किएन भने।  

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने गर्छन्। 

आउने फागनु २० गते ६ वर्षे कार्यकाल सक्काएका २० जनामध्ये एमालेका ८ जना राष्ट्रियसभा सदस्यहरू पनि बिदा हुँदैछन्। 

जसमा हाल राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना (गण्डकी), इन्दु कडरिया (सुदुरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिपा गुरुङ (गण्डकी), दिलकुमारी रावल थापा(बागमती), नरपति लुवार(कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र रामचन्द्र राई(बागमती) बिदा हुँदैछन्। 

काँग्रेसका ४ जना बिदा हुँदैछन्। जसमा अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) रहेका छन्।  

माओवादीका ३ जना बिदा हुँदैछन्। जसमा महेश कुमार महरा (सुदुरपश्चिम), विना पोखरेल (कोशी) र हरिराम चौधरी (सुदुरपश्चिम) रहेका छन्। एकिकृत समाजवादी २ जना जसमा नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) बिदा हुँदैछन्। 

जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी (मधेश), स्वतन्त्र निर्वाचित खिमलाल देवकोटा र मनोनित विमला राई पौडेल बिदा हुँदैछन्। 

यसरी १९ जना बिदा हुँदै गर्दा हाल देखिएको मतभारले एमालेलाई थप निरास बनाउने देखिन्छ। सातै प्रदेशमा एमालेभन्दा गठबन्धन बलियो देखिन्छ। जसले गर्दा काँग्रेस र माओवादी केन्द्रलाई थप फाइदा हुनेछ। 

अब माओवादी पहिलो, एमाले तेस्रो 
२०७२ को निर्वाचनमा एमाले २७ सितसहित राष्ट्रियसभामा पहिलो दल बन्यो। तर यही माघ ११ गते हुने निर्वाचनबाट एमाले पहिलो दलबाट तेस्रो दलमा खुम्चिने सम्भावना छ। तेस्रो दल माओवादी केन्द्र पहिलो दल बन्ने सम्भावना रहेको छ।

गठबन्धन दलहरू निर्वाचनमा जाँदा माओवादी केन्द्र अहिलेको मतभारअनुसार १७ सिटसहित पहिलो दल बन्ने छ। त्यस्तै काँग्रेस १६ सिटसिहत दास्रो र एमाले ९ सिटसहित तेस्रो बन्नेछ। 

नेकपा एकिकृत समाजवादी (एस) ८ सिटसहित चौथो दल बन्ने छ। यसअघि पनि नेकपा एसको ८ सिट नै थियो। दुई जना ६ वर्षेकार्यकाल सकेर बिदा हुँदै गर्दा २ जना उम्मेदवार नेकपा एसले उठाएको छ। 

एमालेलाई धक्कैधक्का, दुई वर्षपछि प्रतिपक्षविहीन बन्नेछ ‘राष्ट्रियसभा’
एमालेलाई यो धक्का आज आएर लागेको होइन। बाम गठबन्धन गरेर २०७४ को निर्वाचनमा मिलेर पार्टी एकता गरेका माओवादी केन्द्र र एमाले जहिले दुई टुक्रा भए, सोही समयदेखि एमालेलाई धक्कैधक्का लागिरहेको छ। 

२०७४ मा निर्वाचनपछि बाम गठबन्धनको दुई तिहाइ नजिकको सरकार बन्यो एमाले अध्यक्ष ओली प्रधानमन्त्री भने। पार्टी एकता भयो। तर शक्तिसंघर्ष नमिलेपछि २०७८ मा दुई पार्टी दुईतिर भए।

त्यतिमा मात्रै होइन। एमालेको माधनव नेपाल पक्षसमेत एमालेबाट फुट्यो। ओलीले संसद बिघटन गरिदिए। त्यसको झोकमा काँग्रेससँग अर्को गठबन्धन बन्यो। अहिलेसम्म त्यही गठबन्धन कायम छ। 

जब काँग्रेससँग गठबन्धन बन्यो एमाले सबै ठाउँमा प्रतिपक्ष बन्न पुग्यो। २०७९ मा सोचेजस्तो मत परिणाम लिन सकेन। यही माघ ११ गते हुने निर्वाचनमा पनि १९ सिटमा एक सिट जित्ने सम्भावना छैन। 

यतिमात्रै होइन। राष्ट्रियसभाको आउने २०८२ का निर्वाचनमा एमालेले थप क्षेति मात्र बेहोर्ने छैन, राष्ट्रियसभा प्रतिपक्षविहीन बन्ने अवस्था छ। हालको गठबन्धन कायम रह्यो भने र माघ ११ को निर्वाचनमा गठबन्धनमा इमान्दारिता देखियो भने ०८२ को निर्वाचनबाट अहिले भएको ९ सिटमा ८ सिट गुमाउने छ। 

एमालेको एक सिटमात्र बाँकी हुनेछ। लगभग राष्ट्रियसभा एमालेविहीन हुने सम्भावना पनि उत्तिकै छ, भलै नेपाली राजनीति आफै गठबन्धनको ‘भूमरी’मा छ। कतिबेला त्यो भूमरीमा कुन दल अल्झिन्छ पत्तै हुन्न।  

प्रकाशित मिति: : 2024-01-09 20:35:00

प्रतिकृया दिनुहोस्