...अनि पत्रकारको बोलावटमा गएनन् सभामुख र सञ्चारमन्त्री 

निर्धारित समयभन्दा एक घण्टा ढिला भइसकेको थियो। कार्यक्रमस्थल सभामुख र सञ्चारमन्त्रीको उपस्थितिको पर्खामा थियो। निर्धातिर समयभन्दा एक घण्टा ढिला हुँदा पनि सभामुख र सञ्चार तथा सूचना प्रविधिमन्त्रीकाे उपस्थित भएनन्।

अनि कार्यक्रम आयोजक नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति, काठमाडौँले ११ बजे गर्ने भनिएको कार्यक्रम १२ बजिसकेपछि मात्र सुरु गर्‍यो। सभामुख र सञ्चारमन्त्रीविनै। सभामुख देवराज घिमिरे कार्यक्रमको प्रमुख अतिथि र सञ्चारमन्त्री रेखा शर्मा विशिष्ठ अतिथिका रुपमा आमन्त्रित थिए।

सभामुख र सञ्चारमन्त्रीबाट पत्रकार प्रदेश प्रतिष्ठानले निकालेको पुस्तक ‘अग्र अनुहार’ विमोचन गर्ने तयारीमा थियो। उनीहरु दुवै जना उपस्थित नभएपछि पछि आउने भन्दै कार्यक्रम अघि बढ्यो।

कार्यक्रम सकिँदासमेत सभामुख घिमिरे र सञ्चारमन्त्री शर्मा उपस्थित भएनन्। उनीहरुका लागि ड्यासमा राखिएको कुर्ची खाली नै रह्यो। कार्यक्रमको अन्तिमतिर सभामुख र सञ्चारमन्त्री नआउने सूचना प्रवाह गर्दै उद्घोषकले अग्रज पत्रकारबाटै पुस्तक विमोचन गर्ने बताए।

त्यसपछि कार्यक्रम हल ‘नेपाल पर्यटन बोर्ड’मा कोलाहल मच्चियो। दर्शकदीर्घाबाट उठेर केही मञ्चमा पुगे। अतिथिलाई दिइएको पुस्तक खोसे। च्याते। र, कार्यक्रममा नारा लगाए। त्यसपछि कार्यक्रम अगाडि बढ्न सकेन। पुस्तक विमोचन हुन सकेन। होहल्लाकैबीच उद्घोषक आफैँले पुस्तक विमोचन भएको बताए।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति, काठमाडौँले निकालेको पुस्तक विमोचनमा यसरी हुलदंगा मच्चाउनेमा थियो, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)।

कार्यक्रममा विवाद हुन्छ भन्ने थाहा पाएपछि सभामुख र सञ्चारमन्त्री नआएको बताइन्छ।

विवाद के हो?

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले ‘अग्र अनुहार’ नामक पुस्तक निकालेको थियो। जसमा पत्रकार महासंघ स्थापनाकालदेखि हालसम्म नेतृत्व लिएकाहरुको कथा समेटिएको छ।

तर, सबैको कथा समेटिँदा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठको नाम नै उल्लेख नगरिएको भन्दै फोनिजले विरोध जनायो। यद्यपि, फोनिजले कार्यक्रम हुनुअघि माघ २७ गते प्रेस विज्ञप्ति जारी गर्दै पुस्तक सच्याउनुपर्ने माग गरेको थियो।

फोनिजले पत्रकार महासंघको संस्थापक श्रेष्ठ रहेको दाबी गरेको छ। तर, पत्रकार महासंघको रेकर्डमा उनी नै संस्थापक हुन भन्ने छैन। संस्थापक कृष्णप्रसाद भट्टराईलाई मानिएको छ।

महासंघको संस्थापक भट्टराई कि श्रेष्ठ भन्ने विवाद पहिलेदेखि कै हो। हाल ‘अग्र अनुहार’ पुस्तकमा पनि विवाद सोही विषयमा भयो। फोनिजले श्रेष्ठलाई संस्थापक मान्नुपर्ने र उनले नै २००८ सालमा पत्रकारहरुलाई संगठित गरेको दाबी गरेको छ।

तर, २०१२ सालमा भट्टराईले पत्रकारलाई संगठित रुपमा अगाडि बढाएको भन्दै महासंघको रेकर्डमा उनलाई संस्थापक मानिएको छ। फोनिज अध्यक्ष गजुरधन राईले पुस्तक चोरबाटो आएको आरोप लगाए।

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सबै विषयलाई सच्याएर जान सकिने बताए।

प्रकाशित मिति: : 2024-02-11 17:55:00

प्रतिकृया दिनुहोस्