पथरीमा १५ वर्षीया बालिकाको हत्या प्रकरण

आरोपीले हत्या अस्वीकार गरेपछि प्रहरी थप प्रमाणको खोजीमा

मोरङको पथरी नगरपालिका– ७ लामाटोलीमा सोमबार राति भएको एक बालिकाको हत्या आरोपमा शंकास्पद ब्यक्ति पक्राउ परेका छन्।

१५ वर्षीया बालिकाको हत्या आरोपमा उनका प्रेमी बताइएका ३८ वर्षीय युवक पक्राउ परेका हुन्। भर्खर १४ वर्ष पूरा गरेकी सञ्जना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति सवा १० बजे घाँटी रेटेर हत्या भएको थियो।

मोरङको ग्रामथान स्थायी घर भई बाराको जितपुरमा बस्दै आएका धिरेन खाँ थारुलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। तर, प्रहरी स्रोतकाअनुसार पक्राउ परेका थारुले हत्याको जिम्मा लिइसकेका छैनन्। प्रहरी भने घटनास्थलमा जुत्ताको पाइलाको परीक्षण र बालिकासँगको सम्बन्ध लगायतका आधारमा थारु नै मुख्य हत्यारा हो भन्ने निष्कर्षमा पुगेको हो।

थारुले हत्या अस्वीकार गर्दै आएपनि उनको जुत्ताको छाप पहिचान गरेर प्रहरीले उनीबाटै हत्या भएको दाबी गरेको छ। ‘दुई जना बीचको सम्बन्धलाई परिवारले स्वीकार गर्ने अवस्था नदेखिएपछि थारुले राईको हत्या गरेका हुन्’, एक प्रहरी अधिकृतले भने। मोरङका प्रहरी उपरीक्षक नवराज कार्की पनि थारुले नै बालिकाको हत्या गरेको बताउँछन्। प्रहरी अहिले पनि उनीविरुद्ध थप सबुत प्रमाण जुटाउने अनुसन्धानमा केन्द्रीत रहेको जनाइएको छ।

घटना भएको चार घण्टापछि मंगलबार बिहान २ः३० बजे भाउन्नेको जंगलबाट थारु पक्राउ परेका थिए। गत असार १३ मा राईलाई लिएर भारततर्फ जाने क्रममा थारुलाई जोगवनी नाकाबाट सामाजिक संस्थाले रोकेर प्रहरीको जिम्मा लगाएको थियो।

बालिकालाई पनि परिवारको जिम्मा लगाएको थियो। हत्या लगत्तै अनुसन्धानमा पुगेको प्रहरीले गत असारको घटनालाई आधार मानेर खोजी गर्ने क्रममा थारु पक्राउ परेका हुन्।

थारुले लगाएको जुत्ताको पैतालाको डाम घटनास्थल नजिकैको बारीमा पाइएको डामसँग मिलेकाले प्रहरी उनले नै हत्या गरेको निष्कर्षमा पुगेको छ।

खोटाङको ऐसेलुखर्क– ६ सल्ले घर घई पथरीस्थित मामाको छोरा विनोद राईको घरमा बसेर कक्षा ७ मा पढ्दै आएकी बालिका राति कोठाबाट बाहिर निस्किएर शौचालय जाने क्रममा हत्या भएको थियो।

सुत्नुअघि घर बाहिर रहेको शौचालय निस्किएकी बालिका चिच्याएको आवाज आएपछि परिवारका सदस्य बाहिर निस्किएका थिए। बालिका लडेर अचेत अवस्थामा रहेको र छेउछाउमा कोही पनि नदेखिएको बिनोदले प्रहरीलाई बताएका छन्।

थारु प्रहरीको नियन्त्रणमा आउँदा भाउन्नेको जंगलमा राति पूर्व-पश्चिम राजमार्गमा एक्लै फेला परेका थिए। उनले लगाएको पाइन्टमाथि घुँंडामा माटोको डाम देखिएको थियो।

पारिवारिक समस्याका कारण मामाको छोरा (दाइ) को घरमा बसेर अध्ययनरत बालिकासँग थारुले डेढ वर्षदेखि निकट सम्बन्ध राखेको बताइएको छ।

वैदेशिक रोजगारीमा रहेका बेला सामाजिक सञ्जालबाट नजिक भएका थारु गत असारमा बालिकालाई भगाएर भारत लैजाने उद्देश्यले बाराबाट आएका थिए। सामाजिक संस्था र प्रहरीले बालिकालाई विनोदको घरमा जिम्मा लगाएपछि थारु र बालिकाको सम्बन्ध टाढिएको एसपी कार्कीले बताए।

‘कुबेतमा रहेकी श्रीमतीसँग बोलचाल बन्द भएपछि बालिकासँग पनि सम्बन्ध टाढिएकाले थारुले नै हत्या गरेका हुन्’, कार्कीले भने।

थारु बारामा नै घर बनाएर केही वर्षदेखि बसोबास गर्दै आएका छन्। घटनास्थलमा खुकुरीको दाप भेटिए पनि खुकुरी फेला परेको छैन। थारुले हत्या अस्वीकार गरेकाले थप प्रमाण खोजीमा प्रहरी लागेको छ।

उनको फोनको कल डिटेल र मोबाइल लोकेशन आएपछि थप प्रमाणले पुष्टि हुने आशामा प्रहरी छ।

 

प्रकाशित मिति: : 2024-03-06 21:01:00

प्रतिकृया दिनुहोस्