भारत लैजान लागेकी १८ वर्षीया युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार, तीन जना समातिए

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बाँकेमा सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण मात्रै नभई मानव बेचबिखन जस्ता गतिविधि रोक्न प्रभावकारी काम गरिरहेको छ। मानव बेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले प्रभावकारी कदम चलाइरहेका हुन्।

बिहीवार मात्रै एउटा समूहले ललाई–फकाई गरी भारत लैजान लागेको अवस्थामा बाग्लुङ्गकी १८ वर्षीया युवती दिलमाया (नाम परिवर्तन)लाई उद्धार गरेको छ। उनलाई उद्धार गर्नुका साथै भारत लैजाने व्यक्तिहरूलाई डुडुवागाउँपालिका–१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकास ढकालको नेतृत्वमा गएको मोवाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली, सोही ठाउँ बस्ने राम सुरेश रहेका छन्। उनीहरूले मोटरसाइकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको हो। पक्राउ परेकी युवतीलाई सेल्टरमा राख्नुका साथै उनलाई भारत लैजादा पक्राउ परेका माथि थप कारवाही गर्न प्रहरीलाई बुझाइएको छ।

सशस्त्र प्रहरीले सीमाक्षेत्रको सुरक्षा,चोरीपैठारी र सीमाक्षेत्रमा हुने अवान्छित गतिविधि रोक्न प्रभावकारी काम कदम चलाइरहेको छ। यो नाका मानव बेचबिखनका लागि दलालहरूले प्रयोग गर्दै आएकाले निकै संवेदनशिल मानिन्छ। त्यसैले मानव बेचबिखन जस्ता अपराधिक गतिबिधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिएका छन्।

‘यस्ता गतिबिधि कुनै पनि हालतमा हुन नदिन सशस्त्र प्रहरी चनाखो छ,’ डाँगीले भने।

प्रकाशित मिति: : 2024-03-07 22:01:00

प्रतिकृया दिनुहोस्