आजबाट नेपाल आइडल सिजन–५ को प्रसारण सुरु

नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ। 

आज साँझ ८:३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो। 

कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताएका छन्।

निर्देशक पौडेल भन्छन्, ‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजि गर्नेछ।’ यस्तै जजमध्येका एक न्य्हू बज्राचार्य विगतका सिजनमा भन्दा यो सिजनमा अझ बढी सक्षम सिङ्गरहरु अडिसनमा आएको बताउँछन्।

जे होस्, नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ। किनभने, नेपाल आइडलमा अघिल्ला सिजनमा सहभागी प्रतिस्पर्धीहरुले नै अहिले नेपाली संगीत जगदम राज गरिरहेका छन्।

अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलले नै उत्पादन गरेको हो। उनीहरू नेपाली संगीतमा सक्रिय त छन् नै संगीत क्षेत्रको अग्रस्थानमा पनि छन्।

नेपालमा अन्य गायन रियालिटी शो हरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ।

‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन्। त्यसैले पनि यो सिजनको चर्चा राम्रो भैरहेको छ।

जजका रुपमा न्य्हू बज्राचार्यसंगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सञ्चालन गर्नेछन्।

कार्यक्रम हरेक शुक्रबार र शनिबार ८:३० देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ। आइडलको यो सिजनलाई भिभोले टाइटल स्पोन्सर गरेको छ।

प्रकाशित मिति: : 2024-03-08 15:37:00

प्रतिकृया दिनुहोस्