कुकुर र मान्छेको भावनात्मक सम्बन्ध देखाउने ‘आर्थर: द किङ्ग’

मिकेल लिन्डनोर्डद्वारा लिखित र साहसिक दौडको समयमा कायम एक धाबक र कुकुरसँगको सम्बन्धको सत्य घटनामा आधारित पुस्तक ‘आर्थर- द डग हू क्रस्ड द जङ्गल टु फ़ाइण्ड ए होम’को मूल कथावस्तुलाई लिएर साइमन सेलन जोन्सद्वारा निर्देशित सिनेमा ‘आर्थर- द किङ्ग’ रिलिज भएको छ।

मान्छेको सबैभन्दा नजिकको र बफादार जनावार कुकुर र एक धाबकको भावनात्मक सम्बन्धलाई नजिकबाट केलाएर निर्देशक जोन्सले सिनेमालाई वास्तविकताको नजिक देखाउन खोजेका छन्। तर, वास्तविकता देखाउन खोज्दा सिनेमा कतै-कतै उराठलाग्दो भएको छ।

सिनेमाको कथाअनुसार पर्वातारोहण गर्ने तीन सदस्य माइकल (मार्क वाह्ल्बर्ग), ओलिभिया (नथाली इमेनुएल) र चिक (अलि सुलेमान) एक साहसिक प्रतियोगितामा भाग लिन कतै गएको समय एउटा भुस्याहा कुकुर (आर्थर) माइकलको पछि लाग्न थाल्छ। त्यसै समय माइकलको समूहलाई अचानक आइलागेको खतराबाट कुकुरले सबैलाई बचाउन सफल हुन्छ।

त्यसपछि उनीहरु त्यो कुकुरलाई पनि आफूसँगै लिएर अगाडि बढछन्। तर, केही दिनपछि उनीहरु त्यो कुकुरलाई सँगै लिएर जान नसक्ने बाध्यता हुन्छ। र उनीहरु कुकुरलाई छोडेर अगाडि बढछन्। तर, कुकुरले भने उनीहरुलाई छोड्न मान्दैन। पछि-पछि लागेर आउने क्रममा त्यो कुकुरकै ज्यान जान सक्ने खतरा हुन पुग्छ।

के माइकल त्यो कुकुरलाई बचाउन सफल हुन्छ? के माइकल त्यो प्रतियोगिता जित्न सफल हुन्छ? यस्ता प्रश्नहरुको जवाफ पाउन भने सिनेमा नै हेर्नुपर्छ।

अभिनयको कुरा गर्दा सिनेमाको नायक वाह्ल्बर्गको वरिपरि घुमेको छ। उनले एक साहसिक खेलको खेलाडीको चरित्रलाई वास्तविकताको नजिक रहेर उत्कृष्ट अभिनय गरेका छन्। माइकलको श्रीमती हेलेना (जुलियट रेलेन्स)ले आफ्नो पतिले प्रेम गरेको कुकुरलाई गरेको स्नेहको अभिनय हेर्दा आँखा रसाउँछ।

अन्य कलाकारहरुको अभिनय सामान्य छ। अभिनेता बेयर ग्रिल्स आफ्नै वास्तविक भूमिकामा छन्। तर, यिनलाई सिनेमामा किन जबर्जस्ती घुसाइएको हो? त्यो भने पंक्तिकारले बुझ्न सकेको छैन।

सिनेमाको पटकथा माइकल ब्रान्टले लेखेका छन्। उनी मान्छे र बोल्न नसक्ने कुकुरबीच को भावनात्मक सम्बन्धलाई नजिकबाट केलाउन सफल छन्। निर्देशक जोन्स एक अर्थपूर्ण सिनेमाको निर्माण गर्न सफल छन्। तर, मूल कथालाई थप घट नगरेको कारण सिनेमा कतै-कतै उराठलाग्दो भएको छ।

जेकब जोफ्रेटको छायाँकन र गेरी रोचको सम्पादन उत्कृष्ट छ। छायाँकार जोफ्रेटले सामान्य दृश्यदेखि समुन्द्रको भित्र र बाहिरको खतरनाक दृश्यहरुलाई बढो सुन्दर तरिकाले खिचेका छन्।

कुकुर र साहसिक खेलप्रेमी दर्शकहरुले यो सिनेमा एकपटक हेर्ने पर्ने सिनेमा हो जस्तो पंक्तिकारलाई लागेको छ। तर, सिनेमामा सामान्य मनोरञ्जनमात्र खोज्ने दर्शकहरुका लागि यो सिनेमा हेर्नु बेकार हो।

@twitter#naviinr

ट्रेलर :

प्रकाशित मिति: : 2024-03-23 17:00:00

प्रतिकृया दिनुहोस्