‘घरज्वाइँ’ प्रदर्शनका लागि मिरुना जापान जाने

Break n Links
Break n Links

नायिका मिरुना मगर जापान जाने भएका छन्। राजधानी टोकियोमा यही अगस्ट ११ तारिखका दिन प्रदर्शन हुन लागेको चलचित्र घरज्वाइँको प्रदर्शनमा सहभागी हुन मिरुना जापान जाने भएकी हुन्।

नेपाल मगर संघ जापानको नेतृत्वमा घरज्वाइँ जापानभर प्रदर्शन हुन गइरहेको छ। उक्त चलचित्र अगस्ट ११ मा टोकियाेमा प्रदर्शन हुनेछ भने १४ तारिख नागोया र ओसाका दुई शहरमा एकैसाथ प्रदर्शन हुनेछ।

सिजुओका, फुकुओका, क्योटो, हिरोशिमा, ओकिनावालगायतका शहरहरुमा पनि घरज्वाइँ प्रदर्शन हुनेछ। करिब दुई लाख जति नेपालीहरु रहेको जापानमा मिरुना मगरलाई पनि बोलाउनुपर्छ भन्ने नेपाली दर्शकहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिए।

जापानका लागि नेपाली राजदूत महामहिम दुर्गा बहादुर सुवेदीको सपरिवारसहित उपस्थित हुने घरज्वाइँ प्रदर्शनमा एनआरएनएलगायत विभिन्न संघसंस्थाका नेताहरुको बाक्लो उपस्थिति रहनेछ।

दर्शकहरुको कति उपस्थिति हुने भन्ने ठोस् जानकारी नभए पनि १८ सय सिट क्षमताको बुंक्यो सिभिक हल भरिने विश्वास रहेको सल्लाहकार लक्ष्मण घर्ती मगरले सुनाए।

घर्तीका अनुसार बुंक्यो सिभिक हल टाेकियाेमा भएका सीमित भिआइपी हलहरुमध्येको एक हो। जसको ४ घण्टाको भाडा मात्रै ४ लाख येन भुक्तानी गरिएको छ। साधारणतया हेरिने चलचित्र हलहरुको पर्दाको स्क्रिन साइजभन्दा यस हलमा भएको पर्दा डबल ठुलो रहेको छ। जसले चलचित्रको दृश्यलाई थप सानदार र फराकिलो पार्ने विश्वास आयोजकको छ।

मिरुना मगरको सम्मानपूर्ण सुरक्षार्थ आयोजक मगर संघले कोषाध्यक्ष सविन बाबु मगरको नेतृत्वमा दुई महिलासहित १० जनाको टोली निर्माण गरिएको छ। मिरुनाको हल प्रवेशको घडी निकै नै दम्दार, उल्लासमय र उमङ्गपूर्ण रहने महासचिव भिक्टर ठाडा मगरले बताए।

उनले थपे, 'कसरी हुन्छ हामीलाई, मिरुनाजीलाई र आम दर्शकलाई पनि अविस्मरणीय बन्नेगरी तयारी गरिरहेका छौँ। हलमा आउने राजदूतावास प्रमुखलगायतका भिआइपी दर्शकहरुलाई स्वागत र व्यवस्थापनको लागि पूर्वअध्यक्ष तथा वर्तमान विदेश प्रमुख ओम काउचा मगरको नेतृत्वमा सल्लाहकारहरुको टोलीलाई जिम्मा दिइएको छ। वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरका अनुसार करिब २/३ सयको हारहारीमा त रुकुम-रोल्पाका दर्शक नै आउने छन्।'

'प्रचार प्रसार दह्रो छ सबैले रुचाएका पनि छन्। घरज्वाइँ हेर्ने दर्शकहरुको भिड अनपेक्षित रुपमा बढी आउने सम्भावना छ। हामी त्यहीअनुसारको जनशक्ति र व्यवस्थापनको तयारीमा जुटेका छौँ', उनले थपे।

रुकुम पूर्वको तकसेरा, बाच्चीगाउँ र लुगुम गाउँहरुमा छयाङ्कन गरिएको नेपाली चलचित्र घरज्वाइँ त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई प्रमुख आधार बनाएर निर्माण गरिएको विल्कुल अर्ग्यानिक र नयाँ स्वाद बोकेको चलचित्र हो।

अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माणमा रहेको घरज्वाइँमा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको छ। घरज्वाइँ विगत एक महिनादेखि नेपालमा निरन्तर प्रदर्शनरत छ भने नेपाल बाहिरको विभिन्न देशहरुमा पनि धमाधम चलिरहेको छ।

प्रकाशित मिति: : 2024-08-09 18:20:00

प्रतिकृया दिनुहोस्