देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन। शनिबार शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडौं केन्द्रीत भई शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन बृहत आन्दोलनको कार्यक्रम सुरु गरेका छन्।
उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन्। विगतका सबै सहमति सम्बोधन गर्न र विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन्।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि ०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।
यता, आन्दोलनमा भेटिएका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक-पटक सम्झौता भएका मुद्दाहरूलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवि वर्गप्रति सकारात्मक नहुनु रहेको बताए।
‘राजनीतिक दलहरू पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरू आन्दोलनको मैदानमा उत्रनु परेको हो। तसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नुपर्छ भन्ने ट्रेड युनियन कांग्रेसको धारणा छ,’ उनले भने।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूर्वसन्ध्यामा शिक्षकहरू अध्यापन छोडेर आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित हुने भएको छ। त्यस्तै शैक्षिक सत्रका अन्तिम परीक्षाको तयारी गर्नुपर्ने शिक्षकहरू पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि शैक्षिक सत्रसमेत प्रभावित हुनसक्ने सम्भावना छ।