पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि आइतबार दिउँसो काठमाडौं फर्किंदैछन्।
उनको स्वागतमा राजावादी दल र समूहहरूले प्रदर्शन गर्दैछन्। राजावादी समर्थकहरूले पूर्वराजालाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटमा जाने त्यहाँबाट उनलाई लिएर र्यालीसहित निर्मल निवास पुग्ने तयारी गरेका छन्।
यसैबीच पूर्वराजाको स्वागतका लागि भव्य तयारी गरिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं भने उनको स्वागतमा नजाने समाचारहरू आए। लिङ्देनले पूर्वराजाको स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको समाचारमा बताइएको थियो।
मुलधारका मानिएका मिडियाहरूमै आएका समाचारहरू धेरैले पत्याए पनि। तर, वास्तविकता त्यस्तो नरहेको राप्रपा प्रमुख सचेतक शाहीले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत लिङ्देन पूर्वराजाको स्वागतमा एयरपोर्ट जाने जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘सबैलाई सूचना गर्दछु, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजालाई स्वागत गर्न काठमाडौं एयरपोर्टमा उपस्थित हुनुहुन्छ। पार्टी अध्यक्ष स्वयं उक्त कार्यक्रममा सहभागी हुनुहुन्छ।’
पूर्वराजाको स्वागत र प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए।
उनले भने, ‘आज पोखराबाट पूर्वराजा आउँदै हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकताअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।’