इजरायल-हमास युद्धका १९ महिना : गाजामा ५० हजारभन्दा धेरै मानिस मारिए

Break n Links
Break n Links

इजरायलसँगको लडाईंमा गाजा क्षेत्रमा कम्तीमा ५० हजार मानिस मारिएको एउटा तथ्याङ्क प्यालेस्टाइनले सार्वजनिक गरेको छ। उनीहरू सबै गाजा क्षेत्रमा रहेका प्यालेस्टाइनी नागरिक रहेको पनि उसको दाबी छ। 

यो तथ्याङ्क गाजास्थित त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो। युद्ध सुरु हुनुअघि यो क्षेत्र हमासको नियन्त्रणमा रहेको थियो र अहिले पनि त्यहाँको स्वास्थ्य मन्त्रालय उसले नै चलाइरहेको छ। 

युद्धपछि गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्मयहरूलाई प्रवेश निषेध गरिएको छ। त्यसैले सञ्चारमाध्यमहरूलाई यस्ता तथ्याङ्कहरूको पुष्टी गर्ने अर्को कुनै माध्यम छैन। विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्रसंघले पनि त्यहाँका जानकारीहरू यही मन्त्रालयमार्फत लिने गर्दछ। 

मन्त्रालयका अनुसार मारिनेहरूको यो संख्या त्यहाँको जनसंख्याको लगभग २.१ प्रतिशत हो। त्यसअघि त्यहाँको कूल जनसंख्या लगभग २३ लाख थियो। १९ महिनाअघि युद्ध सुरु हुनुअघिको जनसंख्या तथ्याङ्कलाई आधार मान्ने हो भने त्यहाँ अहिले हरेक ४६ जनामा एक जना नागरिकले ज्यान गुमाइरहेका छन्। 

तथ्याङ्कअनुसार लगभग १ लाख १३ हजार २७४ जना मानिस घाइते भएका छन्। अझ लाखौं मानिस गाजा क्षेत्रमै घरबारबिहीन भएर शरणार्थी शिविरहरूमा छन् भने लाखौं मानिस छिमेकी देशमा शरण माग्न पुगेका छन्। 

यसअघि कतारको मध्यस्थतामा इजरायल र हमास युद्धबिरामका लागि तयार भएका थिए। त्यो युद्धबिराम सहमति गत मार्च १ मा सकिएको थियो। यो अवधिभरि हमासले बाचा गरेअनुसारका युद्ध बन्दीहरू नछोडेको भन्दै इजरायलले फेरि युद्धको सुरुवात गरेको हो। 

१९ महिनाअघि हमासले इजरेली भूमिमा सयौं रकेट आक्रमण गर्दै युद्धका लागि धावा बोलेको थियो। त्यसपछि युद्ध निरन्तर छ।

त्यो बेला इजरायलमा काम गर्दै र पढ्दै गरेका १० जना नेपाली पनि मारिएका थिए। उनीहरूसँगै हमासले नेपाली विद्यार्थी बिपिन जोशीलाई जिवितै नियन्त्रणमा लिएका थिए। त्यसपछि अहिलेसम्म उनको अवस्थाका बारेमा केही जानकारी छैन।

युद्धबिरामपछि इजरेली आक्रमणबाट गत सातामात्रै लगभग ७ सयभन्दा धेरै मानिस मारिएका छन्। शनिबारमात्रै इजरेलले गरेको एउटा आक्रमणमा हमासका बरिष्ठ नेता र उनकी श्रीमति मारिएका छन्। इजरायलका अनुसार  गाजाको दक्षिणी सहर खान युनिसमा इजरेली हवाई हमलामा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दवील र उनकी श्रीमति मारिएका हुन्। 

इजरायले आइतबारमात्रै लेबनानमाथि पनि आक्रमण गरेको छ। लेबनानको हिज्बुल्लाहसँग पनि उसको युद्ध जारी छ। हिज्बुल्लाहले पनि हमासलाई नै समर्थन गर्दै आएको छ। 

प्रकाशित मिति: : 2025-03-24 09:00:00

प्रतिकृया दिनुहोस्