कुलमानको कुरा उठाउन खोज्दा सभामुखले स्थगित गरे संसद बैठक!

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयमा सांसदहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए।

सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए।

उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।

प्रतिपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए।

सभामुखले पटकपटक बस्न र सदन चलाउने वातावरण बनाउन आग्रह गरेपछि प्रतिपक्षी सांसदले नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो।

यता सत्तारुढ दलका सांसदहरूले पनि कुलमानलाई हटाएको विरोधमा बोल्नका लागि नाम टिपाएको खुलेको छ। सत्तापक्षकै सांसदहरूले विरोध गर्ने भएपछि सभामुखले बैठक स्थगित गरेको कांग्रेसका सांसदले बताए।

‘हाम्रा साथीहरूले पनि कुलमानलाई हटाएर सरकारले आफैं समस्या निम्त्याएको भन्दै विरोध गर्ने तयारी गर्नुभएको थियो। त्यही भएर होला सभामुखले बैठक स्थगित गर्नु भएको। एमालेसँग कांग्रेस सति जान सक्दैन। सरकारको मनलाग्दीको समर्थन गर्न सकिन्न,’ उनले भने।

प्रकाशित मिति: : 2025-03-26 12:36:00

प्रतिकृया दिनुहोस्