थेवेको जिल्लामा युवा संघको अधिवेशन, एकलौटी गर्न खोज्दा हलमै हात हालाहाल

राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको १०औं जिल्ला अधिवेशन तनावग्रस्त बनेको छ। 

बिहीबार फुङलिङमा उद्घाटन सत्र सम्पन्न भएलगत्तै सुरु भएको बन्द सत्रमा नयाँ नेतृत्व चयन प्रक्रिया विवादित बन्दै अधिवेशनमा तनाव भएको हो।

संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूबीच नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि वादविवाद हुँदै झडपमा रूपान्तरण भएको हो।

प्रतिनिधिहरूका अनुसार अध्यक्षमण्डलले कुनै औपचारिक निर्वाचन प्रक्रिया नगरी एकलौटी रूपमा मानिक तुम्बाहाम्फेको नेतृत्वमा कमिटी घोषणा गर्न खोज्दा विवाद सुरु भएको थियो।

अघिल्लो अधिवेशनमा पराजित बलबहादुर साम्सोहाङ समूहले सहमति भए पनि सचिव पद आफूहरूलाई दिनुपर्ने माग गर्दै आएको थियो।

बन्द सत्रको दौरान उत्पन्न विवादले अधिवेशन स्थलमा तोडफोड र कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो। घटनामा सभा हलको सामग्री समेत क्षति पुगेको छ। झडप बिहीबार राति ११ बजेदेखि सुरु भई बिहान २ बजेसम्म चलेको थियो।

विवादपछि अध्यक्षमण्डलले शुक्रबार मध्यान्ह १२ बजेदेखि बन्द सत्र पुनः सञ्चालन गरिने सूचना जारी गरेको थियो।

यद्यपि उक्त सूचनामा अध्यक्षमण्डलका सदस्यहरूमध्ये लेखनाथ भट्टराई मात्रले हस्ताक्षर गरेका थिए।

सदस्य दीपक धितालले सामान्य विवाद भएको र शुक्रबारसम्म सहमतिमा टुंगिने विश्वास व्यक्त गरे भने केन्द्रीय अध्यक्ष थेवेले सबै प्रक्रिया पूरा भइसकेको दाबी गरेका छन्।

अधिवेशनका क्रममा नेताहरूको एकल हस्तक्षेप र लोकतान्त्रिक प्रक्रिया बेवास्ता गरिएको भन्दै कतिपय प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। 

उनीहरूले संगठनलाई विधिसम्मत रूपमा अघि बढाउन आग्रह गरेका छन्।

ताप्लेजुङ एमालेभित्रको आन्तरिक गुटबन्दी छ।

विशेषगरी डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर साम्सोहाङ पक्षबीचको विवादले पनि अधिवेशन प्रभावित भएको बुझिएको छ। यद्यपि एमाले सचिव योगेश भट्टराई अधिवेशनमा उपस्थित भएका थिएनन्।

पछिल्लो समय एमाले संगठनमा नेतृत्व चयन प्रक्रियामा देखिएको ‘टीके प्रवृत्ति’ प्रति असन्तुष्टि बढ्दो छ। संगठन निर्माणभन्दा नेतालाई खुसी पार्ने प्रवृत्तिले संगठन कमजोर बन्दै गएको प्रतिनिधिहरूको भनाइ छ।

प्रकाशित मिति: : 2025-05-02 17:02:00

प्रतिकृया दिनुहोस्