के सेना लगाएरै भए पनि ट्रम्पले ग्रीनल्याण्ड कब्जा गर्नसक्छन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकी स्वामित्वमा लिनका लागि हदैसम्म जानसक्ने संकेत गरेका छन्। 

एनबिसी न्यूजसँगको एउटा अन्तर्रवार्तामा ट्रम्पले अमेरिकाका लागि ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षा र सामरिक महत्व बोकेको टापु भएको बताएका थिए। 

त्यसलाई पाउनका लागि अमेरिकाले सैनिक परिचालन गर्ने योजनाका बारेमा पनि बिचार गरिरहेको उनले बताएका छन्। 

‘के ग्रीनल्याण्ड प्राप्त गर्नका लागि अमेरिकाले सैन्य बल प्रयोग गर्नसक्छ?’ भन्ने प्रश्नको जवाफमा ट्रम्पले त्यसको सम्भावना हुनसक्ने बताएका हुन्। 

‘म यसलाई अस्वीकार गर्दिनँ। म यही गर्नेछु त भन्दिनँ। गर्न सकिने कुनै पनि कुरालाई अस्वीकारचाहिँ गर्दिनँ’ उनले भनेका छन् ‘किनकि प्राकृतिक स्रोत साधनले भरिपूर्ण यो ठूलो टापु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि निकै आवश्यक छ र अमेरिकाले त्यसका लागि जे पनि गर्न तयार छ।’ 

डेनमार्कको स्वायत्त देश ग्रीनल्याण्ड विश्वको सबैभन्दा ठूलो टापु हो। जहाँ अमेरिकाको ठूलो अन्तरिक्ष केन्द्र पनि छ। अमेरिकाका लागि उक्त भूभागको रणनीतिक महत्त्व छ किनभने त्यो उत्तर अमेरिकाबाट युरोप पुग्ने सबैभन्दा छोटो मार्ग पनि हो। ग्रीनल्यान्डमा प्रमुख खनिजहरूको ठूलो भण्डार छ। यीमध्ये कतिपय खनिजहरू विश्वमै दुर्लभ पनि मानिन्छन्। 

ट्रम्पले अमेरिकाको राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि ग्रीनल्याण्ड अमेरिकाले लिन चाहेको बताएका छन्। 

‘ग्रीनल्याण्डमा भएका धेरथोर मानिसहरूको स्वामित्व पनि हामीले नै लिनेछौं। उनीहरूलाई हामीले माया गर्नेछौं’ ट्रम्पले भनेका छन् ‘तर कुनै पनि हालतमा हामीलाई ग्रीनल्याण्ड चाहिन्छ। अन्तर्राष्ट्रिय सुरक्षाका निम्ति पनि हामीलाई त्यो चाहिन्छ…।’ 

डेनमार्कबाट लगभग ३ हजार ५ सय ३४ किलोमिटर र अमेरिकाको न्यूयोर्कबाट लगभग २ हजार ९ सय ७७ किलोमिटर टाढा पर्ने यो विश्वको सबैभन्दा ठूलो टापु हो। जहाँ अहिले लगभग ५७ हजार मानिस बस्छन्। यो टापुको लगभग ८० प्रतिशत भूभाग बाह्रैमास हिउँले ढाकिएको हुन्छ। 

ग्रीनल्याण्डलाई सन् १७२१ देखि नै डेनमार्कले आफ्नो स्वामित्वमा लिएको थियो। त्यहाँका नागरिकलाई डेनमार्कले नै नागरिकता दिएको छ। आन्तरिक मामिलाहरूमा आफ्नै निर्णय रहे पनि विदेश तथा रक्षा नीतिमा भने डेनमार्क नै निर्णायक छ। दोस्रो विश्वयुद्ध देखि नै अमेरिकाले भने ग्रीनल्याण्डमा सुरक्षा चासो देखाइरहेको छ। त्यहाँ अमेरिकी सैनिक पनि छन्। 

खासमा यो अमेरिकी महादेशकै भूभाग हो। यो युरोपमा पर्दैन। तर पहिलादेखि नै यो टापु अमेरिकी भन्दा युरोपेली अझ खासगरी नर्वे र डेनमार्कको रहनसहन र संस्कृतीमा विकसित भएको ठाउँ हो। यिनैसँग यो नजिक छ। 

तर ग्रीनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकाले आफ्नो अन्तरिक्ष फौजको हवाई आधार शिविर बनाएको छ। जसका कारण ग्रीनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।

सन् १८१४ मा नर्वे र डेनमार्क एकआपसमा छुट्टिएका थिए। त्यो बेला यो टापुलाई डेनमार्कको अधीनमा रहनेगरी छोडिएको थियो। सन् १८५३ मा बनेको डेनमार्कको संविधानले यो टापुलाई पनि आफ्नै भूभाग भनेर उल्लेख गरेको छ। 

पहिलोपटक राष्ट्रपति हुँदा पनि ट्रम्पले सन् २०१९मा ग्रीनल्याण्डको स्वामित्व अमेरिकाले लिनुपर्ने बताएका थिए। त्यसबेला उनको कडा निन्दा र विरोध भएको थियो। डेनमार्कले पनि उनको त्यो धारणालाई ‘बकवास’मात्रै भएको बताएको थियो। त्यसपछि पहिला नै तय भएको डेनमार्क भ्रमण ट्रम्पले रद्द गरेका थिए। 

यद्यपि ग्रीनल्याण्डलाई अमेरिकी स्वामित्वमा ल्याउनखोज्ने ट्रम्प पहिलो राष्ट्रपति भने होइनन्। सन् १८६० तिर तत्कालीन राष्ट्रपति एन्ड्र्यू जोनसनले पनि त्यो बेला ग्रीनल्याण्ड अमेरिकाको स्वामित्वमा ल्याउने प्रयास गरेका थिए। यसपटक फेरि ट्रम्पले ग्रीनल्याण्ड ल्याउने अभिव्यक्ति दोहोर्‍याउन थालेपछि डेनमार्कले ग्रीनल्याण्डमा रक्षा बजेट बढाउने र अरु लगानी पनि बढाउने घोषणा गरेको थियो। 

 

सन् १९४६ तिर पनि तत्कालीन राष्ट्रपति ह्यारी एस ट्र्यूम्यानले पनि यो टापु किन्न रकम नै प्रस्ताव गरेका थिए। त्यो बेला उनले १० करोड अमेरिकी डलरमा खरिद गर्ने भनेका थिए। त्यो भनेको अहिलेको लगभग १ अर्ब ४० करोड डलर हो। तर प्राकृतिक स्रोतको भण्डार र रणनीतिक हिसाबमा त्यसको मूल्य नै आँकलन गर्न सकिदैंन। 

यसअघि अमेरिकाले थुप्रै त्यस्ता भूभागहरू किनिसकेको छ। सन् १८०३ मा १ करोड ५० लाख डलरमा अमेरिकाले लुजियाना क्षेत्र किनेको थियो। सन् १८६७ मा रुससँग ७२ लाख डलरमा अलास्का खरिद गर्‍यो। सन् १९१६ मा अमेरिकाले डेनिस वेस्ट इन्डिज अर्थात् यूएस भर्जिन आइल्यान्ड डेनमार्कसँगै २ करोड ५० लाख डलरमा खरिदेको थियो। त्यस्तै १९४६ मै पनि स्पेनसँग फिलिपिन आइल्यान्ड किनेको थियो। तर पछि त्यागिदियो। 
 

प्रकाशित मिति: : 2025-05-05 09:46:00

प्रतिकृया दिनुहोस्