चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि मोदी चेन्नई पुगे, सुरक्षा मूल्यांकनमा ड्रोनको प्रयोग

तस्बिरःANI

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्।

शनिवार नेपाल आउनुअघि चेन्नई पुगेका राष्ट्रपति सीको स्वागतका लागि मोदी केही समय अघि चेन्नई पुगिसकेका छन्।

राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै चेन्नईमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय मिडियाहरुले जनाएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र अन्ना विश्वविद्यालयका वैज्ञानिकहरुको सक्रियतामा ६ वटा ड्रोनमार्फत सुरक्षा अवस्थाको मूल्यांकन भइरहेको बताइएको छ।

सो ड्रोनहरुले हालसम्म करिब ३० हजार तस्बिरहरु लिइसकेको बताइएको छ। ड्रोनबाट सुरक्षा मूल्यांकन भइसकेपछि आवश्यक्ता अनुसार सडकमा र्‍यापिड एक्सन फोर्स, क्विक रिएक्सन टिम र स्पेशल टास्क फोर्स परिचालन गरिनेछ।

राष्ट्रपति सीको भ्रमणमा कुनै ‌औपचारिक सम्झौता वा सन्धीमा हस्ताक्षर हुने कार्यक्रम नरहेको बताइएको छ। तर यसपालीको भेटमा कश्मीर विवादको विषय छायामा पर्नसक्ने ठानिएको छ।

भारत आउनु ठीक अगाडि चिनियाँ राष्ट्रपति सी ले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए।भारत र पाकिस्तानबीच कश्मीर विवाद चर्किरहेको बेला उक्त भेटघाट भएको हो।

ती भेटघाटमा चीनले कश्मीरलाई एक विवादित मुद्दा भन्दै त्यसको समाधान शान्तिपूर्ण ढङ्गबाट संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषदले स्विकृत गरेका प्रस्ताव तथा द्विपक्षीय सम्झौताका आधारमा गरिनुपर्छ भनेको छ।

भारतको भ्रमण सकेर शनिवार चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदैछन्।

प्रकाशित मिति: : 2019-10-11 12:44:59

प्रतिकृया दिनुहोस्