सिन्धुपाल्चाेकमा करेन्ट लागेर किशाेरीकाे मृत्यु

सीता हाइड्रोपावरकाे चरम लापरवाही : पीडितले अझै पाएनन् न्याय

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा करेन्ट लाग्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा जुगल गाउँपालिका–३ गुम्बा निवासी १४ वर्षीय नोर्जी वाङमु लामा रहेकी छिन् भने घाइते उनका दाजु राजमान लामा र जामा सोमरानी तामाङ रहेका छन्।

२०८९ फागुन १३ गतेका दिन बारीमा काम गरिरहेका उनीहरुलाई ११ हजार भोल्टेजको डाइरेक्ट लाइन प्रवाहित भएको तार अड्याइएको पोलले करेन्ट लागेको थियो। जसका कारण लामाको मृत्यु भयो।

जुगल गाउँपालिकाको सिम खोलामा निर्माणाधीन ३५ मेगावट नेमिखोला जलविद्युत आयोजना र आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरको लापरवाहीले उक्त घटना भएको हो।

नाङ्गो तारबाट पटक–पटक धुवाँ निस्कँदा समेत मर्मत नगरी जलविद्युत आयोजनाले हेलचेक्याई गर्दा उक्त घटना घटिरहेको बताइएको छ।

किशोरी लामाको मृत्यु हुनु अघि आयोजनाको लापरवाहीले मिति २०७४–११–०६ गतेका दिन कार्यरत मजदूर सरोजको पनि मृत्यु भएको थियो। तत्पश्चात स्थानीयले २०७५ फाल्गुन ६ गते निवेदन दिई आयोजना सुधार गरेर मात्र सञ्चालन गर्न माग गरेका थिए। तर आयोजनाले विज्ञप्ति सूचना नै नदिई २०७४ फाल्गुन १४ गते पुनः लाईन प्रशारण ल्यायो। 

दुर्घटनापछि स्थानीयले घटनाबारे वास्तविक छानबिन गर्दै पीडितलाई न्याय दिलाइयोस् भन्दै जोडदार माग गरे। तर उल्टै सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेको एकतर्फी आरोप लगाई करोडौंको विगो सहित २२ जना स्थानीयविरुद्ध मुद्दा दायर गर्यो।

जलविद्युत आयोजनाका सञ्चालक सिताराम तिमिल्सीनाले राजनीति शक्तिको आडमा उल्टै पीडितलाई न्याय दिलाउनुको साटो झुठो मुद्धा लगाइदिए। 

वास्तविक घटनाको छानबिन गर्नका सट्टा उल्टै सरोकारवाला निकायहरु विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण लगायत स्थानीय सरकार मौन रहेको सीता हाइड्रोपावर पीडित संघर्ष समिति संयोजक चीनलाल तामाङ बताउँछन्। 

पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था, पीडित परिवार सहित २२ जनाविरुद्ध लगाइएको मुद्दा अविलम्ब निशर्त फिर्ता र आयोजना सुरक्षित र व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ। 

घटना सम्बन्धमा के–के भयो ?

१. फागुन १५ गतेका दिन किशोरी नोजी वाइमु लामाको मृत्युपछि सोहीदिन बेलुका पोस्टमार्टमका लागि जिल्ला अस्पताल चौतारा लगियो। १६ गते सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारीको रोहबरमा पीडित परिवार र स्थानीयबीच छलफल भयो। छलफलमा प्रजिअले हाइड्रोपावरको प्रतिनिधि बोलाएर उचित माग सम्बोधन गर्ने आश्वासन दिइयो।

२. १७ गते जिल्ला प्रशासन कार्यालयमा हाइड्रोपावर कम्पनीका प्रतिनिधिका रूपमा रविन्द्र पौडेल भन्ने व्यक्ति आएपनि पौडेलले माग सुन्ने तर कुनै जिम्मेवार लिई निर्णय लिन नसक्ने गैरजिम्मेवारपूर्ण जवाफ दिइयो।

३. सिडिओले घटना सम्बन्ध छानबिन गरी उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएपछि मृतकको शव बुझियो।

४. जाहेरी दर्ता भएको ५ दिनपछि जिल्ला प्रशासन कार्यालयमा हाइड्रोपावर कम्पनीका सञ्चालक सीताराम तिमिल्सीना र छोरा प्रल्हाद तिमिल्सीना उपस्थित भए। छलफलमा सञ्चालक तिमिल्सीनाले हाइड्रोपावरको कुनै दोष नभएको गैरजिम्मेवार जवाफ दिए। उनले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति रुपमा दिने र परिवारका एक जनालाई रोजगारी दिने आश्वासन दिए।

हाइड्रोपावरको कुनै दोष नभएको बताउने तिमिल्सीना स्वयंले जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा क्षतिपूर्ती दिने बताएपछि हाइड्रोपावरको दोष रहेको पुष्टि भएको तामाङ बताउँछन्।

आश्वासन दिएको कुरा हालसम्म पनि कार्यान्वयन नभएपछि पत्रकारसामु गुहार माग्न बाध्य भएको उनले बताए। त्यसैले सत्ताको आडमा सोझासिधा गाउँलेमाथि डण्डा चलाउने क्रियाकलाप नरोके त्यसको शसक्त प्रतिवाद गर्न बाध्य हुने समेत चेतवनी दिएका छन्। 

प्रकाशित मिति: : 2023-03-29 13:57:00

प्रतिकृया दिनुहोस्