संविधान सभासद- तक्मा विवाद : झाँक्रीद्वारा तक्मामाथि सैद्धान्तिक वहस गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवशको अवसर पारेर जेठ १६ गते संविधानसभाका सदस्यलाई बाँडेका तक्मा विवादमा तानिएका छन् । तक्माको बिचमा राखिएको सूर्य र यसमा भएको करोडौं खर्चबाट सुरू भएको विवाद अहिले त्योभन्दा धेरै माथि उठेर अब यसको अर्थ र औचित्यमाथि नै सैद्धान्तिक वहस गर्नुपर्ने कुरासम्म तन्किएको छ ।

सुरूमा कांग्रेसका केही संविधानसभासदले तक्माको विचमा राखिएको सूर्य एमालेको चुनावचिन्ह भएको बताउँदै तक्मा नै बहिस्कार गरिदिएपछि तक्मा विवाद सुरू भयो । यसरी विवाद गर्ने कांग्रेसका तीन सभासदले त घोषणा गरेरै तक्मा  बहिस्कार गरिदिए । यसरी तक्मा बहिस्कार गर्ने संविधाजसभाका सदस्यमा गगन थापा, मिनेन्द्र रिजाल र लक्ष्मण घिमिरे थिए । घोषणा नगरे पनि अरू थुप्रै कांग्रेसका संविधानसभा सदस्य तक्मा थाप्न शितल निबास पुगेनन् । 

गृहमन्त्रालयले एकहजार ३७ सभासदका लागि बनाएको एउटा तक्माको दाम नै एकलाख ७५ रूपैया देखियो । यसो गर्दा तक्माका लागि नै १० करोड ३७ लाख ७७ हजार सातसय ७५ पर्यो । सम्मानपत्र र सुशोभन समारोहको खर्च समेत जोड्दा तक्मा प्रोजेक्टकै लागि १३ करोड २२ लाख नौहजार तीनसय ३९ रूपैया निकासा भएको देखियो। यति धेरै खर्च भएपछि नेपाली कांग्रेसका सभासद डा. मिनेन्द्र रिजालले यसमाथिको भएको खर्च अनुचित भएको बताए । उनले भने- एउटा तक्माको दाम एकलाख ७५ रूपैया यो आफैंमा अस्वभाविक छ । यसमा भ्रष्टाचार भएको हुनुपर्छ, छानबिन होस् ।'

यसरी विपक्षी सांसदलाई सूर्य र दाम ठीक नलागिरहेको बेला सत्तारूढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले तक्माको सैद्धान्तिक पक्षमाथि नै वहस हुनुपर्ने भनेर फायर खोलिदिइन् । उनले खोलेको यो आक्रमक फायरले तक्मा बहसलाई सतहमा ल्याइदिएको छ ।

उनले ट्विटमा लेखेकी छिन्- 'फोटो हेरेर बिरोध गर्नुभन्दा यसको सैद्दान्तिक विषयमा नै विवाद गरौ भन्ने लाग्छ मलाई। संविधान बनायौ स्याबास भने पनि जनताले भन्ने हो।  राजनितीकर्मिलाई जनता बाहेक कसैले दिएको पदक/ तक्माको मूल्य हुन्न।'

उनले अझ अगाडि बढेर गम्भीर प्रश्न उठाएकी छिन् - 'यो के तक्मा सितलनिबास भोज खान जादा लगाउने? कि जन्त, मलामी, बिहेपार्टी, पास्नीमा जादा?'

सांसद झाँक्रीको यो प्रश्नले सामाजिक सञ्जाल तताएको छ । नेपालमा बिस्तारै अधिकांश जनताले गणतन्त्र आएको अनुभूति नै गर्न छोडेका छन् । राजा-महाराजकै पालाजस्तो मानसम्मान, तक्मा विभूषणणलगायतका फण्डाहरू भैरहेकोमा जनताको धैर्यको बाँध टुट्नै लागेजस्तो देखिन्छ ।  सामाजिक सञ्जालसम्म पहुँच भएका तहका जनताको आक्रोशले त्यही कुराको पुष्टी गर्छ । 

 

 

 

प्रकाशित मिति: : 2019-06-06 02:09:22

प्रतिकृया दिनुहोस्