भारतको राजधानी दिल्लीमा तोडफोड भएको मन्दिर मुस्लिम समुदायले बनाउने

IndianExpress

भारतको राजधानी दिल्लीको पुरानो बजार चाँदनी चौकस्थित हौज काजी इलाकामा मंगलबार राती भएको मन्दिर तोडफोडको घटनामा गृह मन्त्री अमित शाहले गम्भीर चासो लिएका छन्। उनले दिल्लीको कानुन व्यवस्थामा देखिएको कमजोरीलाई लिएर दिल्ली पुलिसका कमिश्नर अमूल्य पटनायकलाई बुधबार संसद भवन बोलाएका थिए।

मन्दिर तोडफोडको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। हौज काजी इलाकामा पार्किङलाई लिएर सुरु भएको झगडाले साम्प्रदायिक रंग लिएको थियो। राती केही मुस्लिम युवाहरु मन्दिरमा प्रवेश गरेर तोडफोड गरेका थिए।

तोडफोडको फुटेज सिसीटिभीमा कैद भएको छ। तोडफोडमा संलग्न एक व्यक्ति पहिले पनि हिन्दु मुस्लिम झगडाको बेला सक्रिय भएको र उविरुद्ध मुद्धा परिसकेको बताइएको छ।

सरकारले दंगाको छानवीनका लागि छानवीन कमिटी गठन गरिसकेको छ।

अमन कमिटीका अध्यक्ष जमशेद सिद्धिकीले दुवै धर्मका मानिसहरु बीच सद्भाव कायम गर्न तोडफोड भएको मन्दिर मुस्लिम समाजले बनाउने बताएका छन्। उनले तोडफोडमा नोक्सान भएको सबै खर्च बेहोर्न मुस्लिम समाज तयार भएको बताए।

चाँदनी चौकबाट लोकसभाको निर्वाचन जितेका भारतीय जनता पार्टीका सांसद स्वास्थ्य मन्त्री  हर्षबद्र्धन बिहानै मन्दिर एरियाको निरिक्षण गर्न पुगेका थिए।

प्रकाशित मिति: : 2019-07-03 18:21:57

प्रतिकृया दिनुहोस्