आइतबार, २५ मे २०२५

जीवन र समस्यासँग लडिरहेकाहरूको कथा ‘के घर के डेरा: घर नं २’

News Image
• • •

रिमा केसी

हरेक मानिसको जीवनमा एउटा घर बनाउने सपना हुन्छ। जिन्दगीभर कडा मेहनत र परिश्रम गरेर घर बनाउने ठूलो रहर बोकेर कैयौं युवा शहर पसेका हुन्छन् भने कतिपय युवा खाडी भासिएका छन्। यो पछिल्लो समयको यथार्थता पनि हो।

एउटा घर होस्, सानो परिवार होस् र परिवारका हरेक सानातिना खुशी, रहर र आवश्यकता पुरा गर्न सकुँ भन्ने सबैको चाहना हुन्छ। तर त्यही घर बन्न जसरी पैसासँगै घर बनाउने विविध सामग्रीको आवश्यकता हुन्छ त्यसरी नै परिवार वा सम्बन्धलाई मजबुत बनाउन पनि माया, विश्वास र भरोसाको आवश्यकता हुन्छ।

घर मात्र भएर पनि हुँदैन। सम्बन्धभित्र दरार आएपछि त्यो घर भत्किन धेरै समय लाग्दैन। त्यसपछि आफ्नै घर अनि सम्बन्ध नै मसानघाट लाग्न थाल्छन्।

पछिल्लो समय समाजमा घटिरहेका कैयौं घटनाहरू, सम्बन्धहरू यस्तै यस्तै हुँदै गइरहेको हामीले देखिरहेका, सुनिरहेका छौँ। चाहे घर भएकाहरू बिचको सम्बन्ध होस् या डेरालाई नै घर ठान्नेहरूको जीवनमा नै किन नहोस्। हो यस्तै यथार्थपरक कथा लेखेका छन् बुद्धिसागरले र उक्त कथालाई चलचित्रको रुपमा निर्देशन गरेका छन दिपेन्द्र के खनालले।

चलचित्र ‘के घर के डेरा: घर नं २’ यतिबेला हलहरूमा भव्यताका साथ चलिरहेको छ। यस चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारीलगायतका कलाकारहरूको अभिनय छ। यस चलचित्रले एउटा घरभित्र सँगै भएर पनि सम्बन्ध चिसिएको कथा भनेको छ। जहाँ विश्वास र मायाको अभाव देखाइएको छ। जहाँ बस्ने डेरावालहरू आ-आफ्नै अभावले पिल्सिएका छन्।

सबै एउटै घरको पर्खालमा आ-आफ्नै बाध्यता, विवसतामा कैद बनेका छन। सबै आ-आफ्नै समस्यामा तड्पिएका छन्। तैपनि जीवनसँग हार मानेका छैनन्। जीवन र समस्यासँग लडिरहेका छन्। यस्तो एउटा कथा बोकेको छ यो चलचित्रले।

मानवता, दया, माया र विश्वासको बिउ सकिँदा सकिँदै पनि अझै केही बाँकी छ भन्ने कुरा यसमा देखाइएको छ।

‘के घर के डेरा’ एउटा यस्तो घरको कथा हो। जहाँको घरवाला रौनक र उसकी श्रीमती हुन्छन्। उनीहरूको सानी छोरी पनि हुन्छे। जस्ले बाबुआमाबीचको कलहले कसरी पलपल उसको  खुसी र शान्ति खोसेको छ भन्ने कुरा देखाइएको छ।

उसकै घरमा डेरागरी बस्ने व्यापारमा लकडाउनले गर्दा डुबेर सडकमा आएका एक व्यापारी र मैनबत्ती बनाएर बेच्ने उनकी छोरी पूजा हुन्छन्। सँगैको अर्को कोठामा दिवाकर नाम गरेको पात्र हुन्छ जसले मिटरब्याजको पैसाले साहुहरूदेखी लुकिलुकी र भागिभागी हिँडिरहेको हुन्छ।

अर्को कोठामा आइपुगेको हुन्छ राजाराम सोझो र इमान्दार पात्र। जसले बस दुर्घटनामा आफ्ना आमाबाबु र बहिनी गुमाएको हुन्छ। त्यही चोटले रन्थनिएर विभिन्न हन्डर र ठक्कर खाँदै त्यहाँ आइपुगेको हुन्छ। जसले सम्बन्धको कदर गर्न खुब जानेको हुन्छ। प्रेम र आफन्तको अभावको मूल्य राम्ररी बुझेको हुन्छ। जसले पैसा भन्दा ठूलो सम्बन्ध र प्रेम ठानेको हुन्छ। यसरी यी फरक फरक घरबेटी र डेरावाला पात्रहरू सँगै एउटै छाना मुनि समेटिएका हुन्छ्न।

यी सबै पात्रका आ-आफ्नै कथाहरू छन्। आ-आफ्नै बाध्यता र विवसताहरू छन्। तैपनि सबै पात्रहरू आ-आफ्नै समस्या र जीवन जिउन संघर्षरत हुन्छन्। जीवन र परिस्थितिले जे-जस्तो अवस्था ल्याएपनि सम्बन्धमाथि सबैले आ-आफ्नै खाले उतारचढाव भोगेका हुन्छन्। तर जिउन भने छोडेका छैनन्।

एउटा घर भित्रका अनेकौं आयामका कथालाई यस चलचित्रले प्रस्तुत गर्न खोजेको छ। दुख, सुख, अभाव जस्ता जीवनका उतार चढावलाई मिहिन ढंगबाट देखाउन खोजेको छ। जसको मुख्य कारण देशको अवस्था, राजनीति र आर्थिक पाटोहरूका कमिकमजोरीले गर्दा जनताले अनेकथरीका सास्ती भोग्नु परेको अवस्था उजागर गर्न खोजिएको छ।

लोग्ने-स्वास्नीबीचका सम्बन्ध, शंका, दोष र आशंकाले पछिल्लो समय समाजमा निम्ताउने घटनाहरूको समेत झझल्को पाउन सकिन्छ। 

अन्त्यमा जीवनको ओरालोमा पनि वा असफलतामा पनि गाउँ र परिवार बाँकी छ भन्ने कुरालाई सूक्ष्म रुपमा देखाइएको छ। छोरीको बिहे गरेर बाबू गाउँ फर्किनु र जीवनमा ओरालो लागेर आमा र गाउँ खोज्दै दिवाकर घर फर्किनुले एउटा सकारात्मक र गतिलो सन्देश दिन खोजेको छ। 

जसरी घरको गेटमा छोराको नामको बोर्ड बाबुले प्रेमसहित जिम्मेवारी बोध गराउँदै टाँस्छन्। त्यसरी नै छोराले पुस्तान्तरण गरेको छ। यसरी समग्र रुपमा हेर्दा घर बन्न (इँटा, सिमेन्ट, वालुवा र रड) सामाग्री मात्र भएर हुँदैन बाबू आमाबीचको माया, सद्भाव, विश्वास र मानवता चाहिन्छ। र त्यस संस्कार वा प्रेमलाई सन्तानले बुझ्न जरुरी हुन्छ। 

त्यस घर र घरसँगै जोडिएका परिवारका प्रत्येक सदस्यहरूका भावना, प्रेम र समर्पणका सम्झनाहरूले घर  मजबुत बनेको हुन्छ। त्यसैले मुख्य रुपमा अहिलेको पुस्ताले घर परिवारको महत्त्व, प्रेम र विश्वासलाई जोगाइ राख्न जरुरी छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?