शुक्रबार, १३ जुन २०२५

तोडियो बालेन-सुनिता संवादहिनता, वडाध्यक्षहरूसहित गोप्य भेटवार्ता

फाइल तस्बिर
• • •

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोलबीचको संवादहिनता तोडिएको छ।

महानगर स्रोतका अनुसार उनीहरूबीच बुधबार (हिजो) कार्यपालिका बैठक र नगरसभा बोलाउने विषयमा गोप्य छलफल भएको थियो। बालेनले तीन फरक-फरक दलबाट निर्वाचित वडाध्यक्षहरूसँग पनि सामूहिक छलफल गरेका छन्।

बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार बालेनले महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, ३२ नम्बर वडाका एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलसँग छलफल गरेका हुन्।

मेयर साहले कार्यपालिका र नगरसभा आह्वान गर्न आफू सकारात्मक रहेको बताएको उनले जानकारी दिए। बालेनले सबै दलका प्रतिनिधिहरूलाई मिलेर अघि बढ्ने प्रस्ताव गरेका र छलपललाई निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी ती वडाध्यक्षले बताए।

वडाध्यक्षहरूसँगको बैठकपछि मेयर र उपमेयरबीच फेरि छुट्टै छलफल भएको थियो।

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टसलका कारण कार्यपालिका र नगरसभा बन्धक बनेको छ। पुस १४ यता कार्यपालिका बस्न सकेको छैन।

बालेनले भ्रष्टाचारको आरोपमा बिदामा राखेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जनप्रतिनिधि र कर्मचारीहरूले जबरजस्ती कार्यालय प्रवेश गराएपछि बालेन एकातिर उपमेयरसहितका जनप्रतिनिधि अर्कातिर बनेका थिए।

पछिल्लो समय महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई गुरागाईंले निलम्बन गरेपछि नगर प्रमुखसँगको दूरी झन बढेको छ।

गुरागाईं र बालेनबीच औपचारिक भेटवार्ता भएको छैन। कार्यपालिका बैठक नै नस्दा नीतिगत निर्णयहरू हुन सकेका छैनन् भने असार १५ मा ल्याउनुपर्ने वार्षीक बजेटमा छलफल नै सुरु हुने सकेको छैन।

अब भने मेयर र बाँकी जनप्रतिनिधिबीचको सम्बन्धमा सुधारका संकेत देखिएका छन्। जसले नगरसभा र कार्यपालिका बैठक बस्ने आशा बढाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?