आइतबार, १५ जुन २०२५

०८४ को निर्वाचनमा स्पष्ट ‘बहुमत’ ल्याउने प्रचण्डको ठोकुवा

News Image
• • •

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति देश तथा विदेशमा जनताको आकर्षण तीव्र गतिमा बढिरहेको दाबी गरेका छन्।

शनिबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीद्वारा आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै उनले आगामी ०८४ सालको आमनिर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउने ठोकुवा गरे। 

‘हामीमाथि अनेक भ्रम फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘तर सत्य चिन्न सक्ने नेपाली जनताले फेरि माओवादीतर्फ नै भरोसा देखाएका छन्। अबको युग हाम्रो हो।’

‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौं। राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परेपनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौं,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख-सुख बाँड्यौं। यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ।’

उनले नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीप्रति भ्रम सिर्जना गर्दै जनताको ध्यान अन्यत्र डोर्‍याउने प्रयास गरेको आरोप पनि लगाए।

राजतन्त्र पुनर्स्थापनाका आवाजहरूबारे टिप्पणी गर्दै प्रचण्डले भने, ‘राजावादी सलबलाएका छन्, तर जनताको मन जित्न सक्दैनन्। समय फेरिएको छ, जनता फेरिनेवाला छैनन्।’

कार्यक्रममा करिब ५०० जना विभिन्न पार्टी त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको झण्डा प्रदान गर्दै प्रचण्डले सामाजिक रूपान्तरणको यात्रामा समर्पित हुन आग्रह गरे। 

कार्यक्रममा प्रदेशस्तरीय नेतादेखि स्थानीय जनप्रतिनिधिहरू र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?