सुडान काण्डका अभियुक्त पूर्व आइजी रमेश चन्द ठकुरीले दुई वर्षपछि आत्मसम्पर्ण गरे

बिएल

सुडान काण्डका अभियुक्त नेपाल प्रहरीका पूर्व आइजी रमेश चन्द ठकुरीले आत्मसम्पर्ण गरेका छन्।

उनलाई विहिबार डिल्लीबजारको सदरखोरमा चलान गरिएको छ। उनी लामो समयदेखि भागेर हिडिरहेका थिए।

सर्वोच्च अदालतले उनलाई उपस्थितिका लागि थुप्रै पल्ट ताकेता गरेको थियो। तर, उनी सम्पर्कमा नआएपछि भगौडा घोषित गरिएको थियो।
उनले विहिबार सर्वोच्च पुगेर आत्मसम्पर्ण गरे।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौला गृहमन्त्री हुँदा २०६४ सालमा सुडान काण्ड भएको थियो।

संयुक्त राष्ट्रसंघको अनुरोधमा सुडानका लागि नेपाल प्रहरीबाट खटाइएको फम्र्ड पुलिस युनिट (एफपीयू) का लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरूको खरीदमा अनियमितता भएको थियो।

प्रहरी कल्याण कोषबाट खर्च गरी सुडान मिसनमा पठाउने भनि किनिएको एपीसीलगायतका स्पेयर पार्टसहरूको खरीद विधिमा चरम लापरबाही देखिएपछि मुद्धा परेको थियो। सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको अख्तियारको ठहर थियो।

यो मुद्धामा ३६ जनाविरूद्ध मुद्धा परेको थियो।

सर्वोच्चले २०७४ सालमा मुद्धाको फैसला गर्दै नेपाल प्रहरीका तीन आइजीलाई दोषी ठहर गरेको थियो। दोषी ठहर हुनेमा रमेश चन्द्र ठकुरी सहित ओम विक्रम राणा र हेमबहादुर गुरुङ रहेका थिए।

राणालाई अदालतले २ वर्ष जेल र ५० हजार जरिवानाको सजाय सुनाएको थियो। यस्तै, ठकुरी र गुरुङलाई १ वर्ष जेल र ४० हजार जरिवाना तोकेको थियो।

ठकुरीले दुई वर्षपछि अदालतमा आत्मसमपर्ण गरेका हुन् ।

प्रकाशित मिति: : 2019-07-04 18:32:14

प्रतिकृया दिनुहोस्