८७ विप्लव समूहका नेता कार्यकर्ता जेलमा, विप्लव समूह र प्रहरीको जम्काभेटले सर्वसाधारण त्रसित

तस्बिरः एजेन्सी

काठमाडौं । तत्कालीन माओवादीबाट फुटेर बनेको विप्लव नेतृत्वको माओवादी पार्टी यतिबेला राज्यको टाउको दुखाई बनेको छ । राजनीतिक आवरणमा चन्दा आतंक फैलाएको भन्दै सरकारले गत फागुन अन्तिमदेखि विप्लव समूहलाई प्रतिबन्द लगायो।

राज्यले प्रतिबन्द लगाए पनि विप्लव समूहको गतिविधि भने रोकिएन। देशका विभिन्न स्थानमा बम बिस्फोट, स्थानीय निकायका कार्यालय तथा जनप्रतिनिधिमाथि धाबा बोल्ने क्रम तिब्र पार्‍यो।

पछिल्लो समयमा प्रहरी र बिप्लव समूहबिच भीडन्तै हुन थालेपछि सरकारलाई झनै टाउको दुखाईको विषय बनेको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार राज्यले प्रतिबन्द लगाए यता ५७३ जना विप्लवका नेता कार्यकर्ता पक्राउ परेका छन्। ती मध्ये ८७ जना नेता कार्यकर्ता जेलमा छन्।

विप्लव समूहका केन्द्रीय तहका नेता सुदर्शनलगायतका नेता तथा कार्यकर्ता पुर्पक्षका लागि जेलमा छन्।

प्रहरी तथ्याक अनुसार यो अवधिमा विप्लव समूहका २ जना कार्यकर्ताले प्रहरीको गोली लागेर ज्यान गुमाइसके।

माओवादीका स्थानीय नेता कुमार पौडेल बुधबार बिहान भोजपुरमा-ओखलढुंगा इन्चार्ज नीरकुमार राईको प्रहरीको गोलीबाट मृत्यु भयो।

यस्तै १० वर्षपछि बुधबार बिहान भोजपुरमै भएको दोहोरो भीडन्तमा परी प्रहरी जवान सन्जीव राईले पनि ज्यान गुमाए।

प्रहरी तथ्यांक अनुसार यो अवधिमा प्रहरीले विप्लव समूहका नेता कार्यकर्तामाथि ५४२ मुद्दा दायर गरेको छ।

त्यसैगरी बिप्लव समूहले देशका विभिन्न १८ स्थानमा बम विस्फोट गराएका छन्। ९५ स्थानमा राखिएका बम नेपाली सेना र प्रहरीले निष्क्रिय पारेको छ।

प्रहरीले यो बिचमा अत्याधुनिकसहित १८ थान हतियार बरामद गरेको छ। साथै ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला पारेको छ।

प्रहरी उच्च स्रोतका अनुसार विप्लव समूहले पछिल्लो समय केही संख्यामा विदेशबाट अत्याधुनिक हातहतियारसमेत खरिद गरेका छन्।

तत्कालीन अयोग्य लडाकुलाई हातमा लिएर विप्लव समूहले सैन्य संरचना तयारसमेत पारेको प्रहरीलाई सूचना छ।

विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको प्रहरीले गोली हानी हत्या गरेपछि विप्लव समूह प्रहरीप्रति खरो भएर लागेको देखिन्छ।

यसअघि हतियार बिना हिड्ने बिप्लव समूहका नेता अब हतियार भिरेर हिड्ने गरेका छन्।

स्रोतका अनुसार विप्लवका नेतालाई हैसियत अनुसार हतियार दिइएको छ ।

प्रहरी चौकी हान्ने आफ्नो योजना नभएको बताएपछि विप्लवले ‘परि आएको खण्डमा पछि नहट्नू’ भन्दै नेतालाई हतियार बिना नहिड्न उर्दी जारी गरेको बिप्लव समूहका एक नेताले बिएल नेपालीसँग भने।

‘राज्य हामीप्रति खरो भएर लागिपरेको छ, भोलिको परिस्थिति के होला भन्न सकिने अवस्था छैन, साथीले आफ्नो सुरक्षा माफैं गर्नु भन्ने हाईकमाण्डको निर्देशन छ,’ ती नेताले भने।

गएको केही दिनअघि संखुवासभामा भएको भिडन्त, कुमार  पौडेलको हत्या र बुधबार बिहान भएको घटनाले आफ्नो पार्टीलाई राज्यप्रति थप शंसकित तुल्याएको समेत ती नेताले बताए।

प्रहरीलाई सजग रहन निर्देशन

प्रहरी प्रधान कार्यालयले आफू मातहतका प्रहरी र सादा पोशाकका प्रहरीलाई देशको परिस्थिति हेरेर सजग रहेर काम गर्न निर्देशन दिएको छ।

‘राज्यले प्रतिबन्द लगाएको बिप्लव समूहको गतिविधिलाई प्रहरीले निगरानी गर्दै आएको छ’, प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने, ‘प्रहरी सचेत छ, देशको परिस्थिति र घटनाक्रमलाई लिएर आफ्नो काम अघि बढाउँछ।’

प्रकाशित मिति: : 2019-07-10 16:31:54

प्रतिकृया दिनुहोस्