मेलम्ची बाढी : १

माछापोखरीमा बाढी पस्ला भनेर कुलो तर्काउन गएका श्रीमान बेपत्ता (भिडियो) 

कमल प्रभात

सिन्धुपाल्चोक

मंगलबार बिहानैदेखि झरी परिरहेको थियो।

सिन्धुपालचोकको मेलम्ची नदीमा पानीको बहाव बढिरहेको हुँदा धेरैले बाढी आउन सक्ने अशंका गरेर सचेत अवस्थामा थिए।

नदी छेउछाउ घर भएका मानिसहरु घर छोडेर सुरक्षित स्थानको खोजीमा थिए। सोही स्थानकी रिता भण्डारीका श्रीमान माधव भण्डारी (३१ वर्ष) भने आफ्नो परिवारलाई छोडेर नदी किनार तर्फ दौडिए।

माधव आफूले काम गर्दै आएको माछापोखरीमा बाढीले क्षति पुर्‍याउला भनेर साहुसँग कुलो तर्काउन नदी किनार तर्फ दौडिएका थिए।

माधव नदी किनार तर्फ दौडिएको एकछिनमै मेलम्ची नदीमा बाढी आयो। छिनभरमै बजारका केही घर डुबायो। बाढी यति ठूलो आयो कि सोही स्थानका दुईवटा पुलसमेत बगायो। कुलो तर्काउन नदी किनारमा गएका माधव फर्किएनन्।

यता रिता भण्डारी कुलो तर्काउन नदी किनार गएका आफ्ना श्रीमानको प्रतिक्षामा बसिरहिन्। उनका श्रीमान रातभरी पनि फर्किएनन्।

नेपाल प्रहरी तथा नेपाली सेनाको टोलीले मंगलबार दिनभर खोजी कार्य जारी राखे पनि उनका श्रीमान भेटिएनन्। उनको अवस्था अज्ञात छ।

रिता श्रीमान कतिबेला फर्किएलान् भन्ने आशामा रुदै बसेकी छिन्। ‘माछाको पिरले घरबाट दौडिदै जानु भएका थियो। अहिले सम्म कहाँ हुनुहुन्छ भन्ने पत्तो छैन्।’, रिताले बिएल नेपाली सेवालाई बताइन्।

बाढीमा परेर करिब एक दर्जनौ मानिसहरु बेपत्ता भएका छन्। बेपत्तामध्ये बुधबार साँझसम्म दुई जनाको शव भेटिएको छ।अन्यको खोजी कार्य जारी रहेको सिन्धुपालचोक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन्।

बाढीमा परेर बेपत्ता भएका केही मानिसहरुलाई नेपाली सेनाले मंगलबार बिहान उद्दार गरेको थियो।

मेलम्ची बजारमा आएको बाढीका कारण उक्त क्षेत्रका स्थानीहरु रातभर अनिदो बस्न बाध्य भए। मंगलबारको रात निकै त्रास र भयका बीच कटाएको स्थानीहरु बताउँछन्। उनीहरुले मेलम्ची नदीले आफ्ना सपनाहरु बगाएको हेरीरहे।

मेलम्चीको बाढीले मेलम्ची नगरपालिका–११ का लक्ष्मण गौतमले वर्षौदेखि सजाएको सपना पनि बगायाे। मेलम्ची बजारमा लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका उनी रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा थिए।

उनको करिब एक करोड लगानीमा बनेको रेष्टुरेन्ट बाढीले बगाएको छ। उनी रेष्टुरेन्ट बनाएर सञ्चालन गर्ने तयारीमा थिए। कोरोना महामारीका कारण सञ्चालन सुरु गर्न रोकिएको उनको रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ।

‘ऋण गरेर सञ्चालनमा ल्याउन लागेको रेन्टुरेन्ट बाढीले बगायो। रातभरी बाढीले रेष्टुरेन्टका सामान बगाइरहेको हेरिरहेँ।’, गौतमले विएल नेपाली सेवासँग भने।

रातभरीको अवस्था निकै भयावह भएको हुँदा भौतिक संरचनाभन्दा पनि ज्यान बचाउनु ठूलो कुरा रहेको उनी बताउँन्।

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले ठूला–ठूला संरचनासमेत नष्ट गरेको छ। बाढीले निर्माणधिन दुई पुल पूर्ण रुपमा भत्काएको छ भने सोही नदी किनारमा रहेको करिब एक सय घरहरु ढुवानमा परेका छन्।

त्यस्तै मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुगेको छ। क्षतिको विरण अहिलेसम्म आएकाे छैन। अझै पानी परिरहेकोले थप क्षति हुन सक्ने सरोकारवालाले बताएका छन्।



बाढीले वितण्डा मच्चाएकाे मेलम्ची क्षेत्र (१० तस्वीर)

मेलम्चीको बाढीमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव भेटियो

मेलम्चीकाे बाढीमा ३३ जना अझै वेपत्ता

मेलम्चीका स्थानीय भन्छन्ः 'बस्ने ठाउँ छैन, हिजाेदेखि भाेकै छाैं' 

मेलम्ची: होटलको छतमा फसेका दुई युवालाई सेनाको हेलिकप्टरले गर्‍यो उद्धार (भिडियाे)

मेलम्चीमा बाढीकाे वितन्डा: सातको मृत्यु, कैयौँ बेपत्ता

मेलम्चीमा बाढीकाे वितन्डा: ५० जना बेपत्ता

 

प्रकाशित मिति: : 2021-06-17 07:28:00

प्रतिकृया दिनुहोस्