निलम्वित सांसद आलमको तीन दिनपछि अदालतमा बयान सकियो

फाइल तस्बिर

निलम्वित सांसद मोहमद अफताव आलमको तीन दिनपछि अदालतमा बयान सकिएको छ । बयान बिहीबार दिउसो सकिएको हो ।

कर्तव्य ज्यान मुद्धामा मंगलबार र बुधबार बयान भएको थियो भने ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ सम्बन्धीमा बिहीबार बयान भएको हो । तीनवटै मुद्धामा आलमलाई न्यायधीश दिपक ढकालले तीन दिनमा करिब ६० प्रश्न सोधेका थिए ।

घटना सम्बन्धमा सोधिएका प्रश्नहरुको जवाफमा आलमले इन्कारी बयान दिएका छन् । न्यायधीश दीपक ढकालले सोधेको तत्कालिन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै उनले हो त्यसबेला मुद्धा नचलाउने निर्णय गरेको थियो भन्ने जवाफ दिएका छन्।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की , गोविन्द शर्मा, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले बहस गर्ने बताइएको छ । प्रतिवादी आलमको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरेलगायत रौतहट आइपुगेका छन्।

बिहीबार नै थुनछेक बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए। आलमलाई तीनवटै मुद्धामा ३२ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको छ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै अभियोगपत्र दर्ता गरेको छ ।

अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घटना नै नभएको भन्दै बयान दिएका थिए । उनको इन्कारी बयानपछि प्रहरीले पोलिग्राफको तयारी गरेको थियो । तर आलमले मानेनन् ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।

सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।

उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

प्रकाशित मिति: : 2019-11-07 14:37:19

प्रतिकृया दिनुहोस्