नेपाली सिमालाई चलाउने कसैलाई पनि अधिकार छैन: खनाल

फाइल तस्बिर

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सीमा विवाद समाधान गर्दै नेपालको अखण्डता र भौगोलिक सीमाको रक्षा गर्न सरकारसँग माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नक्साको विरोध गर्दै तत्काल सीमा विवाद टुंग्याउन आग्रह गरेका हुन्।

‘भारतद्वारा हालै प्रकाशित नक्सामा नेपालको भूभाग अतिक्रमित भएको स्पष्ट छ। नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ। त्यो सिमालाई चलाउने कसैलाई पनि अधिकार छैन,’नेता खनालद्वारा जारी विज्ञप्तिमा छ।

उनले नेपालको सिमाना महाकाली नदीबाट निर्धारित भइ आएको र महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको काली नदी (कुटी याङदी) भएको उल्लेख गरेका छन्।

‘त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपाली भूभाग हुन्। त्यसबारेमा ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अबिलम्ब वार्ता गर्न र कुटनीतिक ढंगले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न म नेपाल सरकारलाई जोडदार माग गर्दछु,’ नेता खनालले भनेका छन्।

प्रकाशित मिति: : 2019-11-08 12:24:24

प्रतिकृया दिनुहोस्