१५ वर्ष दिल्लीको मुख्यमन्त्री रहेकी शीला दीक्षित रहिनन्

Agency

तीन पल्ट भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री बनेकी शीला दीक्षितको शनिबार दिउँसो हद्यघातका कारण निधन भएको छ। १५ वर्ष दिल्लीको मुख्यमन्त्री बनेर कीर्तिमान बनाएकी दीक्षित ८१ वर्षको थिइन। उनलाई दिउँसो ३ बजेर १५ मिनेटमा एस्कर्ट अस्पतालमा निधन भयो। बिहान मुटुको दुखाई अनुभव गरेकी दीक्षितलाई तुरुन्त अस्पताल पुर्याइएको थियो।

राजधानी दिल्लीलाई आधुनिक र सांस्कृतिक शहरको रुपमा परिवर्तन गर्न उनको ठूलो योगदान थियो।

उनकै कार्यकालमा दिल्लीमा मेट्रो ट्रेनको सुरुवात भएको थियो।

उनको पार्थिव शरीरलाई पूर्वी निजामुद्धिनस्थित घरमा अन्तिम दर्शनका लागि राखिएको छ। दीक्षितको निधनमा दुःख व्यक्त गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परिवारलाई सान्त्वना दिन घर पुगेका थिए।

यस्तै, युपिएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रणव मुखर्जी तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल उनलाई अन्तिम श्रद्धान्जली दिन घर पुगेका थिए।

उनको शरीरलाई आइतबार बिहान निगम बोधघाटमा दागबत्ति दिइने छ। दिल्लीका मुख्यमन्त्री केजरीवालले शीला दीक्षितको निधनमा दुई दिन दिल्लीमा राजकीय शोकको घोषणा गरेका छन्।

शीला दीक्षितको जन्म १९३८ मा पञ्जाबको कपुरथलामा भएको थियो। शीला पहिले उत्तर प्रदेशको राजनीतिमा सक्रिय थिइन। तर, ४ पल्ट उत्तर प्रदेशबाट पराजित भएपछि उनलाई युपिए अध्यक्ष सोनिया गान्धीले १९९८ मा दिल्लीको जिम्मेवारी सुम्पिएकी थिइन। यसपछि उनी २०१३ सम्म लगातार ३ पल्ट दिल्लीको मुख्यमन्त्री बनिन्।

 

प्रकाशित मिति: : 2019-07-20 21:10:08

प्रतिकृया दिनुहोस्