थाई राजाका शिरमा ७.३ किलो सुनको ‘ग्रेट क्राउन अफ भिक्ट्रि’

थाइल्यान्डका राजा महा भाजिरालंकर्ण यतिबेला चर्चामा छन्।केही दिनअघि आफ्नै अंगरक्षकलाई महारानी बनाएर चर्चामा रहेका राजा राज्याभिषेकका कारण थप चर्चित भएका छन्। 

तीन दिने राज्याभिषेक समारोहको पहिलो दिन उनले ‘ग्रेट क्राउन अफ भिक्ट्रि’ नाम दिइएको ७.३ किलो सुनको मुकुट लगाए।

राजा महा भाजिरालंकर्ण तीन वर्षअघि राजगद्दीमा बसे।२० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुपर्‍यो। उनका पिता भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनी राजा भएका हुन् ।

थाइल्यान्डको हालसम्मकै लोकिप्रिय राजा भूमिबोलले ७० वर्ष शासन गरे। उनको मृत्यु हुँदा उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख थिए।

भाजिरालंकर्ण थाईल्याण्डका लोकप्रिय राजा अदुल्यादेज र रानी सिरिकिटको दोश्रो सन्तानका रुपमा १९५२ को जुलाई २८ मा जन्मेका हुन्।

भाजिरालंकर्णले बैंकक, बेलायत तथा अष्ट्रेलियाका विद्यालयमा अध्ययन गरेका छन्। 

उनले केही समय थाई सेनामा कार्य पनि गरेका छन्। लडाकु तथा साधारण जहाज चलाउने सक्ने भाजिरालंकर्णले विदेश भ्रमण जाँदा आफैले बोइङ ७३७ उडाउँछन्।
 
राजनीतिक अनिश्चितताबीच उनले राज्याभिषेक गरेका भाजिरालंकर्ण कस्ता राजा बन्लान् भन्ने अनुमान गर्न भने कठिन देखिन्छ।थाईल्याण्ड संवैधानिक राजतन्त्रात्मक मुलुक भएपनि राजा निकै शक्तिशाली हुन्छन्। 
प्रकाशित मिति: : 2019-05-04 22:04:25

प्रतिकृया दिनुहोस्