विश्व कपभन्दा ठिक अगाडि पाकिस्तानले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। पाकिस्तानी टिम हाल इंग्ल्यान्डमा एकदिवसीय शृंखला खेलिरहेको छ। शृंखलामा पाकिस्तानको बलिङ आक्रमण फितलो देखिएपछि टिम परिवर्तन गरिएको हो।
पाकिस्तानका प्रमुख छनोटकर्ता इन्जमाम उल हक र प्रमुख प्रशिक्षक मिकी आर्थरको सल्लाहपछि तीब्र बलर मोहम्मद आमिर र ब्याट्सम्यान आसिफ अलीलाई १५ सदस्यीय टोलीमा समावेश गरिएको हो।
आमिर फर्ममा थिएनन्। त्यसैले उनलाई सुरुमा विश्व कप टोलीमा समावेश गरिएको थिएन। आसिफ हाल इंग्ल्यान्डमै छन्। उनले दुई वटा एकदिवसीयमा इंग्ल्यान्डविरूद्ध राम्रो प्रदर्शन गरेका थिए। दोस्रो एकदिवसीयमा उनले ३६ बलमा ५१ र तेस्रोमा पनि अर्धसतक पुरा गरेका थिए। यही प्रदर्शनका कारण उनलाई टिममा समावेश गरिएको हो।
वासिम अक्रमले पनि आमिरलाई टोलीमा समावेश गर्न सल्लाह दिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को नियमअनुसार मे २३ भन्दा अगाडि कुनै पनि देशले आफ्नो टिममा परिवर्तन गर्न सक्छन्। यसपछि भने आइसिसीको अनुमति लिनुपर्ने हुन्छ।
आमिर र आसिफलाई आबिद अली र फहीम असरफको स्थानमा टिममा समावेश गरिएको हो।