भारतमा सावित्रा चम्किएपछि सेथु च्याम्पियन

तस्बिरः भारतीय फुटबल

नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलसँगै तमिलनाडुको टोली सेथु एफसीले भारतीय महिला फुटबल लिग, इन्डियन विमिन्स लिग, आईडब्लूएलको उपाधि जितेको छ।

पञ्जाबस्थित गुरू नानक रंगशालामा भएको फाइनलमा सेथु स्पोर्ट्सले मणिपुर पुलिस स्पोर्ट्स क्लब विरुद्ध पछि परेको अवस्था उल्ट्याउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधि जित्ने क्रममा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दा सावित्राले २ गोल गरिन्।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सेथु १-० ले पछाडि रहेको थियो। खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो। सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो।

अग्रता लिएपछि लगातार आक्रमणमा उत्रिएको सेथुले खेल आफ्नो पक्षमा पारेरै छोड्यो।

प्रतिद्वन्द्वी मणिपुर पुलिसविरुद्धको लिगको पहिलो खेलमा मैदान छिरेको २८ सेकेन्डमा नै गोल गरेर प्रतियोगिताको शुरुआत गरेकी स्ट्राइकर सावित्राले सोही क्बल विरुद्धको फाइनलमा उपाधि जिताउने २ गोल गरेर भारतीय लिगको व्यावसायिक खेल यात्रा टुंग्याइन्।

खेल १-१ को बराबरीमा चलिरहेको बेला सावित्राले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् भने ७० औं मिनेटमा अर्को गोल थप्दै उपाधि पक्का गरेकी थिइन्।

पहिलो गोल उनले दाङमेई ग्रेसको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गरिन् उनले दोस्रो गोलमा इन्दुमथी कासिरेथानको पासलाई सदुपयोग गरिन्।

सावित्राले प्रतियोगिताका ७ मध्ये ६ खेलमा गोल गर्न सफल रहिन्। उनले प्रतियोगितामा २ ह्याट्रिकसहित कुल १५ गोल गरिन्।

मणिपुर विरुद्धको पहिलो खेलमा ४ गोल गरेकी सावित्राले सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८-१ को फराकिलो अन्तरले पराजित गर्दा पनि ४ गोल गरेकी थिइन्।

सावित्रासँगै मिडफिल्डर अनिता बस्नेत पनि सेथुमा नै आबद्ध छिन्। प्रतियोगिताको नियम अनुसार एक पटकमा एक विदेशी मात्र खेलाउन पाइने नियमका कारण अनिताले धेरै मौका पाइनन्।

आइडब्लुएलको यो तेस्रो संस्करण हो। नेपाली खेलाडी अनुबन्धित भएको भने यो पहिलो पटक हो।

स्ट्राइकर भण्डारी भारु ८५ हजार र मिडफिल्डर अनिता बस्नेत भारु ६५ हजारमा सेथु फुटबल क्लबबाट अनुबन्धित भएका बताइएको छ।

प्रकाशित मिति: : 2019-05-22 21:42:11

प्रतिकृया दिनुहोस्