कविता

रगतको राजधानीबाट

कमरेड ! 

यो भत्किएको घरको पिंढीमा बसेर 
एउटा उज्यालो पर्खिरहेको छु, 
र कुरिरहेको छु - हाम्रा मृत्युपत्र बोकेर 
देश बनाउन हिँडेको त्यही बाटोमा तपाईलाई।

सम्झना आइरहन्छ,
लडाइँको मोर्चामा हामी सँगै हिँडेको।
याद आइरहन्छ, 
क्रान्तिका गीतमा ओजपूर्ण आवाज मिसाएको।
र स्मरण छ उस्तै मिठो 
रा..ता विचारमा उभिएर रातै सपनाहरू बाँडेको।

अटल छ अझै
त्यो जलजला पहाड- जो विजयको प्रतीक थियो
धैर्यवान् छ थबाङ गाउँ
जो नयाँ शासनको राजधानी थियो।
बगेकै छ सुनछहरी झरना
जो विचारधाराको अग्लो बिम्ब थियो 
र गतिशील छ लुङ्ग्री खोला
जो रातो यात्राको निरन्तरता थियो।

कमरेड 
कत्ति पनि नमिठा थिएनन् ती सपनाहरू !

राता अक्षरहरूले 
लेख्नुथ्यो हाम्रा गाउँहरूको नमेटिने इतिहास
विजयका उचाईहरूले
चिनाउनुथ्यो  
र उकास्नुथ्यो सारा नेपालीको जीवनस्तर।

कमरेड  !
धेरै वर्ष बितिसकेछ 
तपाईंले रोल्पा छोड्नुभएको,
फर्किआउने आश देखाएर जानुभएको,
समयका तमाम लासमा टेकेर
देश बनाउने जिम्मा दिएका थियौँ हामीले।

सोच्छु
अब रोल्पाले देख्न पाउँछ कि पाउँदैन तपाईंलाई ?
या तपाईंले बिर्सिनुभयो कि सम्झिनुभएको छ अझै ?

यहाँ ओइलाइसके रोपिएका सपना
रूखो भइसकेको छ सिञ्चिएको माटो
पुरिइसकेका छन् बङ्करहरू 
र भत्किसकेका छन् चट्टानहरूमा खोपिएका कुलो।

हाम्रो बाटो एउटै थियो 
हाम्रा विचार, यात्रा, सपना र गीतहरू एउटै थिए
तर सँगै हिँडेर पनि 
हामी कतै पुग्न सकेनौँ 
कमरेड ! तपाईंजस्तो हामी बदलिन सकेनौँ।

प्रकाशित मिति: : 2021-04-17 18:12:00

प्रतिकृया दिनुहोस्