अफगानिस्तानमा क्रिकेटको लोकप्रियता यति उचाईमा छ। जसको पछिल्लो उदाहरण भर्खरै राजधानी काबुलमा भएको एउटा घटनाले पुष्टी गरेको छ।
विश्व कपका लागि इंग्ल्यान्ड पुगेको अफगानिस्तान टिमले ‘वार्म–अप’ खेलमा पूर्व विश्व च्याम्पियन पाकिस्तानलाई पराजित गरेपछि काबुलमा अनौठो दृश्य देखा पर्यो।
जितको उत्सव मनाउन बाटोमा भेला भएका अफगानी समर्थकले राजधानी काबुलमा ‘हवाई फायर’ गरेका थिए।
यो घटनामा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ। स्थानीय एक पत्रिकाका अनुसार प्रहरीले विभिन्न ठाउँबाट ४२ जनालाई समातेको छ।
अफगानिस्तानमा खुसीयाली प्रकट गर्ने यो पुरानै परम्परा हो। तर, यसपालि ‘हवाई फायर’ गर्दा २ जना घाइते भएको प्रहरीले बताएको छ। उनीहरूलाई गोलीको छर्रा लागेको थियो।
काबुलबाहिर जलालाबादमा पनि यस्तै घटनामा ३ घाइते भएका थिए।
घाइतेको उपचार अस्पतालमा भइरहेको प्रहरीले बताएको छ।
२४ मेमा ब्रिस्टलमा भएको खेलमा अफगानिस्तानले ३ विकेटले पाकिस्तानलाई पराजित गरेको थियो। पाकिस्तानले पहिलो ब्याटिङ गर्ने क्रममा ४७ ओभरमा २ सय ६२ रन बनाएको थियो। प्रत्युत्तरमा अफगानिस्तानले ७ विकेट गुमाएर दुई बल खेल्न बाँकी रहँदै खेल जितेको थियो।