यस वर्ष खराब प्रदर्शन गरिरहेको पाकिस्तान विश्व कपअन्तर्गत शुक्रबार वेष्ट इन्डिजविरूद्ध मैदानमा उत्रिँदैछ। लगातार ११ खेलमा पराजय भोगेको पाकिस्तानका लागि नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा बेलायतको ट्रेन्ड ब्रिज मैदानमा उत्रिँदा दुई वर्षअघि भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको सुखद अनुभव मात्र हुनेछ।
त्यसयता पाकिस्तानले लगातार खराब प्रदर्शन गरिरहेको छ। विश्व कपका लागि अफगानिस्तानसँग खेलिएको अभ्यास खेलमा समेत पाकिस्तान ३ विकेटले पराजित भएको थियो।
यस्तो अवस्थामा सन् १९९२ मा विश्व कप जितेको पाकि टिमलाई आफ्नो साख जोगाउन वेष्ट इन्डिजलाई पराजित गर्नुपर्ने दबाब छ। तर, यतिबेला वेष्ट इन्डिजलाई पराजित गर्न पाकिस्तानलाई निकै गाह्रो छ।
टोलीमा बाबर आजम बाहेक अरु ब्याट्सम्यान त्यति लयमा देखिदैनन्। आजमले अफगानिस्तानविरूद्ध १ सय १२ रनको सतकीय इनिङ खेलेका थिए। फखर जमा, मोहम्मद हफिज र सोएब मलिकबाट पनि धेरै आशा गरिएको छ।
विश्व कप अगाडि टिममा फर्किएका दुई अनुभवी बलर मोहम्मद आमिर र वहाब रियाजका कारण पाकिस्तान केही आत्मविश्वासी देखिन्छ।
आमिर फिटनेशको समस्याका कारण पहिलो खेलमा देखा पर्ने सम्भावना न्युन छ। उनी यो खेलमा देखा परेनन् भने पनि दक्षिण अफ्रिकाविरूद्ध दोस्रो खेलमा फर्किने सम्भावना बलियो छ। वहाबले अफगानिस्तानविरूद्ध ३ विकेट लिएर आफू लयमा रहेको स्पष्ट पारिसकेका छन्।
वेष्ट इन्डिजले विश्व कपको अभ्यास खेलमा न्युजिल्यान्डविरूद्ध ४ सयभन्दा बढी रन बनाएर आफू आक्रामक रहेको बताइसकेको छ। पहिलो र दोस्रो विश्व कपको विजेता क्यारेबियन टिमको अहिलेको सबैभन्दा बलियो पक्ष नै ब्याटिङ हो। उ सँग अहिले बिस्फोटक ब्याट्सम्यानको रुपमा क्रिस गेल, आन्द्रे रसेल जस्ता नाम छ। विकेटकिपर ब्याट्सम्यान साई होपले अभ्यास खेलमा सतक बनाएका थिए।
तल्लो क्रममा कप्तान जेसन होल्डर र कार्लोस ब्रेथवेट पनि लामो प्रहार गर्न उस्ताद मानिन्छन्। पाकिस्तानको तुलनामा वेष्ट इन्डिजको बलिङ त्यति धाँरिलो मानिदैन्।
केमार रोच र सेनान ग्रेब्रियल मात्र दुई अनुभवी तीब्र बलर छन्। त्यही पनि वेष्ट इन्डिजलाई दुई प्रतिभाशाली बलर ओसाने थोमस र सेल्डन कोटरेलबाट धेरै आशा छ।
कप्तान होल्डर र ब्रेथवेट पनि मौका मिलेको खण्डमा विकेट निकाल्न माहिर मानिन्छन्।
त्यसैले आजको खेललाई दुई अप्रत्यासित टिमबीचको भिडन्तको रुपमा हेरिएको छ।