इंग्ल्यान्डले विश्व कप क्रिकेटमा सर्वाधिक योगफल जोड्ने कीर्तिमान बनाएको छ। १२ औं संस्करणको विश्व कपअन्तर्गत शनिवार बंगलादेशविरूद्ध भएको खेलमा इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्ने क्रममा ६ विकेट गुमाएर ३ सय ८६ रन बनायो।
विश्व कपमा इंग्ल्यान्डको कुनै पनि टिमविरूद्ध यो सर्वाधिक योगफल हो। इंग्ल्यान्डले यसअघि सन् २०११ को विश्व कपमा भारतविरूद्ध ८ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो।
बंगलादेशले टस जितेर घरेलु टिमलाई ब्याटिङको निम्तो दिएको थियो। इंग्ल्यान्डका लागि जेसन रोयले उत्कृष्ट सतक बनाए। जोस बटलर र जोनी बेयरस्टोले पनि उत्कृष्ट अर्धसतक बनाएका थिए।
रोयले १ सय २१ बलमा १ सय ५३ रन बनाएका थिए। उनले १४ चौका र ५ छक्का प्रहार गरेका थिए। उनले बेयरस्टोसँग मिलेर पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। बेयरस्टोले ५० बलमा ५१ रन बनाएका थिए।
बटलरले ४४ बलमा ६४ रन बनाएका थिए। उनले कप्तान इयोन मोर्गनसँग मिलेर चौथो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए। मोर्गनले ३३ बलमा ३५ रन बनाएका थिए।
इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा ७ पल्ट ३ सय भन्दा बढी रन बनाएको हो। यसपालिको विश्व कपमा इंग्ल्यान्डले तीन वटै खेलमा ३ सयभन्दा बढी रन बनाएको छ।