पाँचौं विश्वकप क्रिकेटको आयोजना अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा गरे । बेन्सन एन्ड हेजेजले प्रायोजन गरेको सन् १९९२ को विश्वकप धेरै कारणले यादगार रहयो।
यो विश्वकप पुनः अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानले जित्यो ।
पहिलो पल्ट कृत्रिम बत्ती, रंगीन लुगा र रंगीन बल प्रयोग भएको पाँचौं विश्वकपमा भारतका सचिन तेन्दुलकर पुल सट हान्दै गरेको चहकिलो अनुहार लिएर विश्वक्रिकेटमा उदाए । यस्तै, दक्षिण अफ्रिका रंगभेदका कारण ३० वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध खेप्दै पहिलो पल्ट विश्वकपमा फर्किएको थियो ।
जोन्टी रोड्सको खतरनाक रन आउट, इन्जमाम उल हकको आगमन, डर्क वर्थ एन्ड लुइस नियमको सुरुवात, इमरान खानको लामो मिलाउँदै गरेको कपाल, मार्क ग्रेजब्याचको विस्फोटक ब्याटिङ, मार्टिन क्रोको यादगार खेल पाँचौं विश्वकपको नभुल्ने कहानी हुन् ।
यस विश्वकपमा नौ राष्ट्रले भाग लिए, जसलाई राउन्ड रोबिनको आधारमा खेलाइयो ।
पहिलो ५ मध्ये ३ खेलमा पराजय र इङ्ल्याण्डविरुद्धको खेल वर्षाका कारण प्रभावित भएपछी राउन्ड रोबिनबाटै बाहिरिन लागेको पाकिस्तान फाइनलमा मात्र पुगेन, इङ्ल्याण्डलाई २२ रनले हराउँदै विश्वकप जित्न सफल भयो ।
अस्ट्रेलियाविरुद्ध छैठौं राउन्ड रबिन खेलमा आमिर सोहेलको ७६ रनको मद्दतले पाकिस्तान ४८ रनले विजयी भएपछि पाकिस्तानको विश्वकप जित्ने सपना साकार भयो । फाइनलमा कप्तान इमरानले इङ्ल्याण्डविरुद्ध ७२ रन बनाएका थिए ।
राउन्ड रोबिनअन्र्तगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा जोन्टी रोड्सको उत्कृष्ट रन आउटका कारण इन्जमामको ठूलो आलोचना भएको थियो । तर, उनले सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउन विस्फोटक ६० रन बनाए । अर्को सेमिफाइनलमा वर्षाका कारण पहिलो पल्ट विश्वकप खेलिरहेको दक्षिण अफ्रिकाले डक वर्थ एन्ड लुइस नियमका कारण इङ्ल्याण्डविरुद्ध २२ बलमा १ रन बनाउने चुनौती पाएको थियो ।
यस विश्वकपमा क्रोले सर्वाधिक ४ सय ५६ रन बनाएका थिए । पाकिस्तानका वासिम अक्रमले सर्वाधिक १८ विकेट लिए । पहिलो पल्ट विश्वकपको उत्कृष्ट खेलाडीमा क्रोलाई नै छानियो ।