अफ्रिकी देश मेडागास्करको राजधानी अन्तानानारिवोको एउटा रंगशालामा भागदौड मच्चिँदा १६ जनाको निधन तथा ७५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।
अन्तानानारिवोको महासामिना रंगशालामा बुधबार मेडागास्करको ५९ औं स्वतन्त्रता दिवस मनाउन मानिसहरू जम्मा भएका थिए।
मृतकमा ३ जना बच्चाहरू रहेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार समारोहमा पारम्परिक सैन्य परेडको आयोजना भएको थियो। परेड समाप्त भएपछि सुरक्षाकर्मीले मानिसहरूलाई बाहिर निस्किन रंगशालाको मुख्य गेट खोलिदिएका थिए।
तर, यसको विपरीत बाहिर रहेका प्रहरीले केही मिनेटमै गेट बन्द गरेपछि ठूलो दुर्घटना निम्तिएको थियो। गेट बन्द गरेपछि रंगशालाभित्र रहेको भीड अनियन्त्रित भएको थियो। जसका कारण भागदौड मच्चिएको बताइएको छ।
२९ वर्षिय जिन क्लाउडले भने, ‘कार्यक्रम आयोजकले मुख्य गेट खोल्दा म पहिलो लाइनमा थिए। भागदौडमा मलाई पनि हल्का चोट लागेको थियो।’
मेडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाले अस्पताल पुगेर घाइते जनताको हालखबर सोधेका थिए। उनले भने, ‘रंगशालामा क्षमताभन्दा बढी मान्छे जम्मा भएका थिए। यसै कारण दुखद घटना भयो। अस्पतालमा घाइतेको उपचार राम्रोसँग भइरहेको छ।’
रंगशालाको क्षमता २२ हजार थियो। तर, कार्यक्रममा ४० हजारभन्दा बढी मानिस जम्मा भएको बताइएको छ।
सन् २०१८ मा पनि एउटा फुटबल खेलमा भागदौड हुँदा १ को निधन र ३० जना घाइते भएका थिए।