बंगालबाट महिला राष्ट्रिय बक्सिङमा सहभागी भएकी प्रधानको अभ्यासका क्रममा निधन भएको छ। बुधबार दिउँसो कोलकातास्थित भवानीपुर बक्सिङ संघमा अभ्यास गर्ने क्रममा उनी एक्कासी बेहोस भएर लडेकी थिइन।
उनलाई तुरुन्त नजिकैको एसएसकेएम अस्पताल पुर्याएको थियो। अस्पतालमै उनको ह्दयघातका कारण निधन भयो।
उनको उमेर २० बर्ष थियो। दिउँसो साढे ४ बजे स्पाइरिङ गरेर पन्चिङ ब्यागमा अभ्यास गर्ने क्रममा उनी एक्कासी लडेकी थिइन।
अस्पताल पुर्याउँदा समेत उनको स्वाँस थियो। उपचारका लागि अप्रेशन थिएटरमा पुर्याएपछि स्वाँस प्रस्वाँसक्रिया रोकिएको बताइएको छ। भारतीय बक्सिङ क्षेत्रले उनको निधनमा दुःख व्यक्त गरेको छ।
प्रधान भारतीय बक्सिङको उदाउँदो खेलाडी थिइन। उनले २०१८ मा ६० केजी तौलमा बंगालबाट स्वर्ण जितेकी थिइन। प्रधान जोगेश चन्द्र चौधरी ल कलेजमा भर्खरै स्नातकमा भर्ना भएकी थिइन। उनको घर किदरपुरस्थित भुकैलाश रोडमा थियो। उनी स्कुलदेखि नै बक्सिङमा सक्रिय थिइन।