धोनी ३८ वर्षमा लागे, उनको १८ वटा रोचक कीर्तिमान

Agency

भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनी आइतबार ३८ वर्षमा प्रवेश गरेका छन्। आफ्नो कप्तानीमा भारतलाई टि–२०, आइसिसी च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्व कपको उपाधि दिलाएका धोनीले टेस्ट क्रिकेटमा पनि आफ्नो टोलीलाई नम्बर १ बनाएका थिए।

उनको जन्मदिनमा आइतबार टिम इन्डियाका खेलाडीहरूले खुलेर रमाइलो गरे। यस्तै, धोनीको जन्म भएको ठाउँ राचीमा उनका फ्याँनहरूले आफ्नै तरिकाले जन्मदिन मनाए।

भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले ट्वीट गर्दै माहीलाई आफ्नो करिअरकै उत्कृष्ट कप्तान भएको बताएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले पनि उनको जन्मदिनमा शुभकामना व्यक्त गरेको छ।

१५ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा धोनीले कप्तान, ब्याट्सम्यान र विकेटकिपरको भूमिकामा थुप्रै कीर्तिमान बनाएका छन्। ती कीर्तिमान यस प्रकार रहेका छन्।

नम्बर ६ मा ब्याटिङ गर्दै सबैभन्दा बढी रन

धोनीले एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी छैटौं र सातौं नम्बरमा ब्याटिङ गरेका छन्। यस क्रममा उनले पुछारमा ठूलो साझेदारी गरेर भारतलाई थुप्रै खेल जिताएका छन्। नम्बर ६ मा ब्याटिङ गर्दै धोनीले १ सय ३९ खेलमा ४ हजार १ सय ६४ रन बनाएका छन्। उनको उत्कृष्ट अविजित रहँदै १ सय ३९ रन हो।

एकदिवसीयमा किपरको भूमिकामा एउटै इनिङमा सर्वाधिक रन

धोनीले एकदिवसीयमा अवजित रहँदै १ सय ८३ रन पनि बनाएका छन्। उनले श्रीलंकाविरूद्ध २००५ मा १० छक्का र १५ चौकाको सहयोगले १ सय ४५ बलमा यो कीर्तिमान बनाएका हुन्।

अस्ट्रेलियालाई अस्ट्रेलियामै ‘क्लिन स्वीप’

अस्ट्रेलियालाई अस्ट्रेलियामै ‘क्लिन स्वीप’ गरेर उपाधि जित्नु चानचुने कुरा पक्कै होइन। तर, माहीले २०१५ मा अस्ट्रेलियालाई टि–२० शृंखलामा ३–० ले पराजित गर्दै १ सय ४० वर्ष पुरानो कीर्तिमानलाई भंग गरेका थिए।

एकदिवसीयमा छिटो नम्बर १ को उपलब्धी

धोनीले एकदिवसीय क्रिकेटमा बंगलादेशविरूद्ध २००४ मा डेब्यु गरेका थिए। उनले पहिलो एकदिवसीयमा खासै राम्रो गर्न सकेनन्। तर, पाकिस्तानविरूद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनले फर्किएर हेर्नु परेन। धोनी ४२ खेल खेल्ने क्रममा आइसिसीको ब्याटिङ सूचिमा नम्बर १ स्थानमा पुगिसकेका थिए। उनले यो उपलब्धी धेरै छिटो प्राप्त गरेका थिए।

एकदिवसीयमा सबैभन्दा धेरै छक्का हान्ने विकेटकिपर

धोनीले एकदिवसीयमा सबैभन्दा धेरै छक्का हान्ने विकेटकिपर ब्याट्सम्यानको कीर्तिमान बनाएका छन्। उनले ३ सय ४८ खेलमा २ सय २८ छक्का प्रहार गरेका छन्।

छक्का हानेर खेल समाप्त गर्ने खेलाडी

एकदिवसीयमा छक्का प्रहार गरेर खेल जिताउने महारथ धोनीमा छ। उनले एकदिवसीयमा ९ पल्ट छक्का हानेर खेल समाप्त गरेका थिए। उनी यो कीर्तिमान बनाउने पनि एक मात्र खेलाडी हुन्।

महंगो ब्याट

सन् २०११ को विश्व कप फाइनलमा छक्का हिर्काएर नै माहीले २८ वर्षपछि भारतलाई विश्व कपको उपाधि दिलाएका थिए। धोनीले छक्का हिर्काएको ब्याट पछि लिलामी भएको थियो। जुन ब्याट १ लाख पाउन्डमा बिक्रि भयो। अहिले पनि यो ब्याट सबैभन्दा महंगो मानिन्छ।

विश्व कपमा छक्का हानेर जिताउने पहिलो ब्याट्सम्यान

श्रीलंकाविरूद्ध २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा धोनीले फाइनलमा छक्का हिर्काएर भारतलाई उपाधि दिलाएका थिए। छक्का हिर्काएर विश्व कप जिताउने उनी पहिलो ब्याट्सम्यान हुन्।

विकेटकिपर भएर बढी बलिङ गर्ने खेलाडी

धोनी विकेटकिपरको भूमिकामा भएपनि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा बढी बलिङ गर्ने खेलाडी हुन्। उनले २२ ओभर बलिङ गरेका छन्। २००९ को च्याम्पियन्स ट्रफीमा उनले वेष्ट इन्डिजका ट्रेभिस डवलिनलाई बोल्ड गरेका थिए।

एकदिवसीयमा सबैभन्दा बढी अविजित

धोनी एकदिवसीयमा सबैभन्दा बढी अविजित रहने खेलाडी हुन्। उनी एकदिवसीय क्रिकेटकमो प्रभावशाली ‘फिनिसर’ मानिन्छन्। उनी एकदिवसीयमा ७८ पल्ट अविजित रहेका छन्।

७ नम्बरमा ब्याटिङ गर्दै बढी सतक

धोनीले नम्बर ७ मा ब्याटिङ गर्दै सबैभन्दा बढी सतक बनाएका छन्। उनले ३३ खेल नम्बर ७ मा उत्रिएर खेलेका छन्, जसमा २ सतक समावेश छ। उनले एउटा खेलमा १ सय ३९ अविजित रन बनाएका थिए।

सबैभन्दा बढी स्टम्पिङ

धोनी स्टम्पिङ गर्न माहिर मानिन्छन्। उनी एकदमै छिटो स्टम्पिङ गर्ने गर्छन। धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्टम्पिङ गर्ने खेलाडी पनि हुन्। उनले टेस्टमा ३८, एकदिवसीयमा १ सय २२ र टि–२० मा ३३ पल्ट स्टम्पिङ गरेका छन्।

सफल भारतीय किपर

धोनी भारतका सबैभन्दा सफल विकेटकिपर पनि हुन्। उनले टेस्टमा २ सय ९४ शिकार गरेका छन्। यस बाहेक एकदिवसीयमा ३ सय ९४, टि–२० मा ८७ शिकार गरेका छन्। उनी टेस्टमा दोहोरो सतक बनाउने भारतका एक मात्र विकेटकिपर हुन्।

५० भन्दा बढी औसतले १० हजार रन

धोनीले एकदिवसीयमा १० हजार रन पुरा गरेका छन्। उनी एकदिवसीयमा १० हजार माथि रन बनाउने १४ औं खेलाडी हुन्। उनी ५० भन्दा माथिको औसतले १० हजार रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान हुन्। हाल विराट कोहलीको औसत पनि १० हजार पुरा गर्दा ५० भन्दा माथि छ।

कप्तानको भूमिकामा टि–२० मा बढी जित

धोनीले २००७ को टि–२० विश्व कप भारतलाई दिलाएका थिए। उनी टि–२० मा खेल जित्ने सबैभन्दा सफल कप्तान हुन्। उनले ७२ खेलमा ४१ जित दर्ता गराएका छन्।

आइपिएलको सफल कप्तान

धोनी आइपिएलमा पनि सफल मानिन्छन्। आइपिएलमा उनको जितको प्रतिशत ६० छ। उनले १ सय ४ आइपिएल खेलमा जित सम्भव पारेका छन्।

टेस्टमा नम्बर १ स्थान

आफ्नो कप्तानीमा भारतलाई टेस्टमा नम्बर १ को स्थानमा पुर्याएका धोनीले २००९ मा आइसिसी टेस्ट च्याम्पियनसिपको गदा उठाएका थिए।

कप्तानको रुपमा बढी खेल

धोनीले करिब एक दशक भारतीय टिमको नेतृत्व गरे। सन् २००७ मा टि–२० विश्व कप जितेपछि तीनवटै फरम्याटमा कप्तान नियुक्त गरेका धोनीले २०१७ मा नेतृत्व हस्तान्तरण गरेका थिए। धोनीले कप्तानको भूमिकामा ३ सय ३२ खेलमा भारतको नेतृत्व गरेका थिए। जुन विश्व कीर्तिमान हो। उनले ६० टेस्ट, २ सय एकदिवसीय र ७२ टि–२० मा भारतलाई नेतृत्व दिएका थिए। उनले २०१६ मा अस्ट्रेलियाका रिकी पोन्टिङको ३ सय २४ खेलमा कप्तानी गर्ने कीर्तिमान तोडेका थिए।

प्रकाशित मिति: : 2019-07-07 18:22:37

प्रतिकृया दिनुहोस्