‘सांस्कृतिक क्रान्ति’ गलत थियोः चिनियाँ पूर्वराष्ट्रपति देङ सिआओ पिङ

बिएल
देङ सिआओ पिङ आधुनिक चीनका राष्ट्र निर्माता मानिन्छन्। चीनका राष्ट्रपिता तथा चिनियाँ क्रान्तिका नायक माओत्से तुङसँग उनको थुप्रै वैचारिक मतभेद थियो। सेप्टेम्बर १९८० मा ‘द गार्जियन’ मा प्रकाशित पूर्व चिनियाँ राष्ट्रपति देङ सिआओ पिङसँग ओरियाना फलाचीको भेट भएको थियो। इटालीकी यी पत्रकारसँग भएको कुराकानी बिएल नेपाली सेवाका लागि नवीन अर्यालले गरेको अनुवादः
 
ओरियाना फलाचीः तपाईले केही समयअघि लेख्नु भएको थियो– चीन एउटा मोडमा पुगेको छ, जसलाई दोस्रो क्रान्तिसँग तुलना गर्दा हुन्छ? विशेषतः पेकिङ पुग्ने पर्यटकले एउटा स्पष्ट भौतिक परिवर्तनको अनुभव गरिरहेका छन्–त्यहाँ कुनै नारा छैन। माओको तस्वीर पनि निकै कम देखिन्छ। मैले अहिलेसम्म तीन ठाउँमा मात्र माओको तस्वीर देखे। यो पनि रहन्छ या हटाइने छ?
 
देङ सिआओ पिङ– निश्चय नै त्यो सदाका लागि रहनेछ। पहिले तस्वीरहरू यति धेरै थिए, ठाउँ ठाउँमा उचित सम्मानको निर्वाह गर्न कठिन भइरहेको थियो। यसैले हामीले अध्यक्ष माओको तस्वीरलाई कम गर्यौं....सुन्न चाहनुहुन्छ– यो पनि सत्य हो कि अध्यक्ष माओले गल्ती गर्नुभयो। तर वहाँ चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ लोकतन्त्रको प्रमुख संस्थापकमध्ये एक हो। उहाँको गल्ती र विशेषता दुबैको मूल्याङ्कन गर्दा हामीलाई लाग्छ, उहाँको गल्ती गौण भएर जान्छ। यसकारण चिनियाँ क्रान्तिमा उहाँको योगदानको विस्थापन सम्भव छैन। चिनियाँ जनताको स्मृतिमा उहाँ सधै विराजमान हुनुहुन्छ।
ओरियाना फलाचीः आज सबै दोष चारजना (ग्याङ अफ फोर) को समूहमाथि थोपरिने गरिन्छ। तर, माओकी श्रीमति चिआङ चिङ र अन्य तीन जना नै सांस्कृतिक क्रान्तिका अगुवा थिए। के यही नै ऐतिहासिक तथ्य हो? मेरो जानकारी अनुसार जब यी चारजनाको कुरा आउछ, धेरै चिनियाँ पाँच वटै औला माथि लगेर आक्रोश पोख्छन् र भन्ने गर्छन– हो उनीहरूकै कारण भएको हो?
 
देङ सिआओ पिङ– (हाँस्दै) यसैले मेरो लागि आवश्यक पर्ने गर्छ–अध्यक्ष माओको गल्ती, लिन पिआओ तथा चार जना सदस्यको अपराधबीचको अन्तरलाई स्पष्ट पार्ने। तपाईलाई म स्मरण गराउन चाहन्छु, अध्यक्ष माओले आफ्नो अधिकाश समय चीनको सेवामा समर्पीत गर्नुभयो। संक्रमणकाल र संकटको अवस्थामा तथा प्रतिक्रान्तिको खतरा हुँदा पार्टीलाई जोगाउनु भयो। अर्को शब्दमा भन्नु पर्दा–उहाँको योगदान यति महत्वपूर्ण छ, उहाँको अनुपस्थितिमा हामी वर्षोसम्म अध्यारोमा भड्की रहेका हुनेथियौं। हामी यो पनि बिर्सिन सक्दैनौं, अध्यक्ष माओ तिनै नेता हुन्, जसले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ यथार्थसँग जोडेर हेरे। अध्यक्ष माओले ती सिद्धान्तलाई सिर्जनात्मक रुपमा राजनीतिसँग मात्र जोडेनन्, दर्शन, कला, साहित्य र सैन्य मामिलामा पनि यसलाई लागु गराए। वास्तवमा सातौं दशकसम्म, ठ्याक्क भन्नुपर्दा छैटौं दशकको उत्तराद्र्धमा अध्यक्ष माओको केही विचार निकै हदसम्म दुरुस्त थियो र उहाँकै अधिकांश सिद्धान्तका कारण हामीले विजय प्राप्त गर्यौं। तर दुर्भाग्य, जीवनको अन्तिम चरणमा उहाँले गल्ती गर्नुभयो। विशेष गरेर ‘सांस्कृतिक क्रान्ति’ गर्ने गल्ती गर्नुभयो। फलस्वरुप पार्टी, देश र जनतामाथि दुर्भाग्य लादियो।
ओरियाना फलाचीः मि देङ! एउटा कुरा मलाई स्पष्ट पार्नुहोला। जतिबेला तपाई अध्यक्ष माओको मत वा विचारको कुरा गर्नुहुन्छ, त्यतिबेला तपाईको भनाईको अर्थ ‘माओत्से तुङ विचारधारा’ सँग हुने गर्छ?
 
देङ सिआओ पिङ– हो। तपाईलाई थाहै छ। क्रान्तिकारी युद्धकै समय हामीले माओत्से तुङद्धारा व्याख्या गरिएको प्रतिपादित सबै विचार–सिद्धान्तलाई एउटै ठाउँमा संग्रहीत गरेका थियौं। र, यसलाई हामीले ‘माओत्से तुङ विचारधारा’ भनेका थियौं। त्यस यता हामीले यसलाई पार्टीको मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा ब्याख्या गर्दे आइरहेका छौं। तर, ‘माओत्से तुङ विचारधारा’ वस्तुतः माओको मात्र सिर्जना थिएन। यद्यपि अधिकांश विचार माओकै थिए। अन्य वरिष्ठ क्रान्तिकारीले पनि यस विचारलाई गोडमेल गर्ने र यसलाई परिस्कृत गर्न योगदान पुर्याएका थिए। केही नाम भन्नुपर्दा चाउ एन लाई, ल्यू शाओ ची र चू तेह पनि यसमा सहभागी थिए।
ओरियाना फलाचीः तपाईले आफ्नो नाम लिनु भएन नी?
 
देङ सिआओ पिङः मेरो कुनै गणना हुँदैन। स्वभावतः मैले पनि यसमा भूमिका निर्वाह गरे होला। तर म वरिष्ठ अर्थात बयोबृद्ध क्रान्तिकारी होइन। (हाँस्दैंं) मैले भनेनी जीवनको उत्तराद्र्धमा आएर अध्यक्ष माओले आफैं (विचार) लाई खण्डन गर्नुभयो। र, ती राम्रा मानिएका सिद्धान्तलाई काट्ने काम गर्नुभयो, जुन उहाँबाटै स्थापित भएका थिए। उहाँको कार्य र कार्यशैलीले अस्वस्थ्य सोच जन्मिने मौका पायो। उहाँको सबैभन्दा रुग्ण सोच थियो, अतिबामपन्थी चिन्तन र अवधारणा। सम्भवतः विजयको उन्मादले उहाँको विवेकलाई कमजोर बनाएको हुनुपर्छ। हुनसक्छ, यथार्थसँग उहाँको सम्पर्क टुट्यो होला। निश्चय नै क्रान्तिमा महान योगदानका कारण चिनियाँ जनतामाझ उहाँको प्रचण्ड प्रतिष्ठा र अनुपम सम्मान थियो। उहाँको चारैतर्फ प्रसंसा मात्र हुन्थ्यो। यस कारण पनि उहाँ आफैंले प्रतित्पादन गरेको उत्कृष्ट सिद्धान्तलाई संस्थागत गर्न चुक्नु भयो। उहाँले लोकतान्त्रिक केन्द्रीकरण र ‘मास लाइन’ (जनपद्धति)का लागि बर्षो काम गर्नुभयो। यो उहाँको कमजोरी भित्र पर्छ। यद्यपि यसका लागि उहाँ मात्र होइन, अन्य क्रान्तिकारी पनि जिम्मेवार छन्। म पनि जिम्मेवार छुँ। उहाँको व्यवहारमा पितृत्व (बुवा) को छाप हावी हुन थाल्यो, जसका कारण पार्टी र देशको जीवन सामान्य हुन सकेन।
 
ओरियाना फलाचीः तर, मिस्टर देङ तपाईले यसलाई गल्ती भन्नुभयो। गल्ती महान ‘लङ मार्च’ देखि नै सुरु भएको थिएन?
 
देङ सिआओ पिङः निश्चय नै। जब मैले छैटौं दशकको उत्तराद्र्धलाई गल्ती आरम्भ भएको काल भनिसके, त्यसमा महान ‘लङ मार्च’ को सन्दर्भ पनि जोडिन आउँछ। तर, यो कुरामा अध्यक्ष माओलाई मात्र दोषी ठहर्याउनु उचित हुँदैन। हामी जस्ता वरिष्ठ भनाउँदाको पनि यो गल्तीमा उत्तिकै भूमिका छ। उदाहरणका लागि यथार्थ नियमको प्रतिकूल काम गर्ने गल्ती तथा अर्थ व्यवस्थालाई गतिशील बनाउन यस्तो उपायको दावी गरियो, जसले आर्थिक नियमको उपेक्षा गर्थो। यो पनि सत्य हो कि अध्यक्ष माओ नै मुख्यतयः जिम्मेवार थिए। तर यो पनि सत्य हो, गल्तीलाई सबैभन्दा पहिले उहाँले नै सम्झिनु भयो। र, सुधारका लागि आवश्यक सुझाव पनि दिनुभयो। तर, निषेधात्मक कारणले सुधारको काम हुन नसकेपछि उहाँले आत्मलोचना गर्नुभयो। यसबाट हामीले शिक्षा लिन नसकिरहेको बेला उहाँले सन् १९६२ मा ‘सांस्कृतिक क्रान्ति’ सुरु गर्नुभयो।
ओरियाना फलाचीः ‘सांस्कृतिक क्रान्ति’ बाट वास्तवमा उहाँ के चाहनु हुन्थ्यो?
 
देङ सिआओ पिङः उहाँ चीनमा पूँजीवादको पुर्नप्रतिष्ठालाई रोक्न चाहनु हुन्थ्यो। वास्तवमा उहाँको सोच नै त्यही थियो। तर, चार जनाको समूहको सोच भने अध्यक्ष माओको जस्तै थिएन। राम्रो उद्देश्यका लागि माओले यो अभियान सुरु गरेपनि त्यो गलत विश्लेषण थियो। चिनियाँ वास्तविकता भन्दा टाढा। त्यसैले अध्यक्ष फेरि चुक्नु भयो। उहाँले प्रहारका लागि गलत लक्ष्य छनोट गर्नुभयो। उहाँले भन्नुभयो–पार्टी प्रवेश गरेका पूँजीवादीमाथि प्रहार हुनैपर्छ। जसका कारण पार्टीका थुर्पै वरिष्ठ क्रान्तिकारीमाथि प्रहार भयो। सबै स्तरमा यही भयो। ती व्यक्ति जो क्रान्तिका लागि शौर्यपूर्वक लडे, जोसँग समृद्ध प्रशासनिक अनुभव थियो, उनीहरू माथि आक्रमण भयो। यस्तो पंक्तिमा ल्यू शाओ ची पनि थिए। जसलाई गिरफ्तार गरियो। पार्टीबाट निकाल्ने काम भयो। फलस्वरुप सम्पूर्ण क्रान्तिकारी कार्यकर्ताको वर्ग ध्वस्त भयो। मर्नु २ वर्षअघि अध्यक्ष माओ आफैले स्विकार गर्नुभयो–‘सांस्कृतिक क्रान्ति’ ले दुईवटा गलत काम गर्यो। यसले एकातिर क्रान्तिकारी कार्यकर्ता वर्ग ध्वस्त पार्यो। अर्कोतर्फ सर्वतोमुखी गृह युद्ध सुरु भयो।
ओरियाना फलाचीः त्यो साँच्चै गृहयुद्ध थियो?
 
देङ सिआओ पिङः हो नै त्यही। जनताहरू दुई समूहमा विभाजित भए। र, एकअर्कालाई मार्न लालायित भए। पुराना क्रान्तिकारी बडारिए। स्वघोषित विद्रोही, जस्तो कि लिन पिआओ र ४ जनाको समूहका सदस्य निरंकुश हुँदै गए। यो युद्धमा धेरैको ज्यान गयो।
 
ओरियाना फलाचीः कति मारिए?
 
देङ सिआओ पिङः अनुमान गर्न पनि गाह्रो छ। किनभने उनीहरू धेरै कारणले मारिए। आखिर चीन विराट देश हो। तर, सुन्नुहोस्– यति धेरै मानिस मरे कि यदी त्यो बेला अन्य दुःखद प्राणघातक घटना नभएको भएपनि मर्नेको संख्या यो भन्नलाई पर्याप्त थियो, ‘सांस्कृतिक क्रान्ति’ ठूलो गल्ती थियो।
 
ओरियाना फलाचीः यहाँ एउटा प्रश्न उब्जिन्छ। मेरो विचारमा नयाँ चीनको नेता तपाईहरू, एउटा आतंकवादी नाटकमा बाँचिरहनु भएको छ। तपाई माओको मिथलाई पल्टाउन र निरस्त्र पार्न चाहनु हुन्छ, पूर्णरुपले नष्ट गरेर। यसको मतलब तपाई सर्बै ध्वस्त पार्न चाहनु हुन्छ तर न्युनतम क्षति बिना। तर तपाई कसरी सफल हुनुहुन्छ? माओकी श्रीमतिले चार जनाको समूहको नेतृत्व गरेको होइन? स्वयम् माओले लिन पिआओलाई आफ्नो उत्तराधिकारी छानेका होइनन्? माओले लिन पिआओलाई यसरी स्थापित गरेका होइनन्, जसरी एउटा सम्राटले आफ्नो उत्तराधिकारीको छनोट गर्ने गर्छ? तपाई यसलाई पनि अर्को गल्तीको रुपमा हेर्नुहुन्छ?
देङ सिआओ पिङः म यसलाई पनि गल्ती भन्छु। जसरी अगाडि मैले अन्य कुरालाई पनि गल्ती भने। निश्चय नै यस्तो गर्नु उचित होइन। नेताबाट उत्तराधिकारीको छनोट एउटा सामन्ती व्यवहार हो। तर, तपाईले यो पनि सम्झिनु पर्ने हुन्छ, अहिले लोकतान्त्रिक केन्द्रीकरण छैन। यस्ता कुराबाट जोगिन हामीले पुरानो व्यवस्था नै छोडिसकेका छौं।
 
ओरियाना फलाचीः संक्षेपमा भन्नु पर्दा, के चिनियाँ कम्युनिष्ट पार्टीको अघिल्लो कंग्रेसको अन्त्य सोभियत कम्युनिष्ट पार्टीको २० औं कंग्रेस जस्तै हुनेछ? जहाँ खु्रश्चेवले स्टालिनको निन्दा गरेका थिए। के म गलती भन्दै छुँ?
 
देङ सिआओ पिङः तपाई गलत हुनुहुन्न। निश्चय नै हामी अध्यक्ष माओको गुण र दोषको मूल्याङ्कन गर्नेछौं। गुणको प्रशंसा गर्नेछौं र भन्ने छौं यो नै प्रमुख महत्व हो। गल्ती पनि औल्याउने छौं र त्यसलाई गौण मान्ने छौं। यसलाई सार्वजनिक गर्ने क्रममा हामी एउटा यथार्थवादी रवैया अपनाउने छौं। तर, यो निश्चित छ, हामी माओत्से तुङ कै विचारधारालाई अगाडि लिएर जानेछौं। किनभने यो उहाँको जीवनको सत्यता हो। तियनान–मेन चोकमा उहाँको तस्वीर मात्र टाँगिएको छैन, उहाँको सम्झना पनि टाँगिएको छ। जसले विजयको मार्ग दर्शन देखाएका थियो र देश निर्माणमा अगाडि बढ्न प्रेरित गरेको थियो। यो चानचुने कुरा पक्कै होइन। यसका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता सधै उहाँप्रति आभारी हुनेछन्। यसलाई टिपोट गरेर राख्नुहोस्– हामी माओत्से तुङसँग त्यो व्यवहार गर्ने छैनौ, जुन व्यवहार ख्रुश्चेवले २० औं सोभियत कम्युनिष्ट पार्टीको कंग्रेसमा स्टालिनविरूद्ध गरेका थिए।
ओरियाना फलाचीः म असमञ्जसमा परेँ, मिस्टर देङ! तपाई माओविरूद्ध आरोप पनि लगाइरहनु भएको छ र उनको बचाउ पनि गरिरहनु भएको छ। माओको मन्जुरीले तपाई दुई पल्ट अपदस्थ भएको होइन?
 
देङ सिआओ पिङः दुई पल्ट होइन। तीन पल्ट। तर, अध्यक्ष माओको स्विकृतिले होइन। (हाँस्दै) हो, मेरो तीन पल्ट मृत्यु भयो र तीनै पल्ट पुनर्जीवन पनि पाए। तपाईले वाङ मिनको नाम सुन्नु भएको छ? जसले चिनियाँ कम्युनिष्ट पार्टीको चरम बामपन्थी गुटको १९३२ मा नेतृत्व गरेका थिए। मेरो पहिलो पतन १९३२ मा भएको थियो–वाङ मिनको कृपाले। उसले मविरूद्ध आरोप लगाएको थियो, मैले उविरुद्ध माओत्से तुङ गुटलाई स्थापित गराएको थिए। यही आरोप लगाएर उसले मलाई तल पार्यो। तीन वर्ष लामो प्रतिक्षापछि १९३५ मा मेरो पुनरुथान भयो, पार्टीको जुएनयी कंग्रेसमार्फत–‘लङ मार्च’ को बेला। जुएनयी कंग्रेसमा वाङ मिनको अतिबामपन्थी अवसरवादी धार परास्त भएपछि म पुनः पार्टीको महासचिवमा स्थापित भए। मेरो दोस्रो पतन सबैलाई थाहा भएको विषय हो– ‘सांस्कृतिक क्रान्ति’ भन्दा अगाडि। जतिबेला म पार्टीको महासचिव र उपप्रधानमन्त्री तथा केन्द्रीय समितिअन्तर्गत तयारी समितिको सदस्य पनि थिए। अध्यक्ष माओले मलाई जोगाउन पनि खोज्नु भएको थियो। तर, असफल हुनुभयो। किनभने लिन पिआओ र चार जनाको समूह मप्रति तीब्र घृणा भाव राख्थे। तर, उनीहरू पनि त्यति घृणा गर्दैन्थे, जति ल्यू शाओ गर्थे। यतिसम्म घृणा गर्थे कि उनीहरुकै प्रतापले मलाई सांगक्शी प्रान्तमा मजदुरीका लागि पठाइएको थियो। तर, १९७३ मा अध्यक्ष माओले मलाई पुनः फिर्ता बोलाउनु भयो।
ओरियाना फलाचीः माओ कि चाउ एन लाई?
 
देङ सिआओ पिङः अध्यक्ष माओ! ....केहीको राय छ, मलाई प्रधानमन्त्री चाउ एन लाईले बोलाउनु भयो। तर मलाई फिर्ता बोलाएको अध्यक्ष माओले नै हो। यतिबेला चाउ एन लाई निकै बिरामी हुनुहुन्थ्यो। अध्यक्ष माओले नै मलाई फिर्ता बोलाउनु भएको हो र उपप्रधानमन्त्रीको रुपमा शाषनको जिम्मेवारी सुम्पिनु भएको थियो। उहाँको भनाई थियो, मेरो गल्ती ३० प्रतिशत थियो तर गुण ७० प्रतिशत। उहाँ पनि त्यति बेला बिरामी हुनुहुन्थ्यो, राजनीतिक ब्युरोको कुनै सदस्यसँग भेट गर्न असमर्थ। उहाँ चार जनाको समूहबाट बढी घेरिनु भएको थियो। मेरो तेस्रो पतन १९७६ को अप्रिलमा भयो, जब चाउ एन लाई बितेको तेस्रो महिना र माओको निधनको पाँच महिना पहिले भयो। तर, अक्टुबरमा चार जनाको समूह गिरफ्तारीमा परेपछि तेस्रो पल्ट मैले पुनर्जीवन पाए।
 
ओरियाना फलाचीः मैले सुनेको उनीहरू कहिल्यै तपाईको साथ भएनन्। सधै तपाईको कुरा लिएर जान्थे।...तपाई बहिरो हुनुहुन्छ। मसँग टाढा बस्न खोज्छ...ऊ मसँग यस्तो व्यवहार गर्छ, लाग्छ म मरिसकेँ। ...उ मसँग सल्लाह पनि गर्दैन। आफ्नै बाटो हिड्छ?
 
देङ सिआओ पिङः यो साँचो हो! तर, उहाँ मेरो बारेमा मात्र भन्नु हुन्थेन्। उहाँ हरेक व्यक्तिको विषयमा कुरा गर्नु हुन्थ्यो, उनीहरू मसँग सल्लाह लिदैनन्। उहाँको कसैले सुनेनन्। केही कुराको जानकारी दिँदैनन्। अरुको बारेमा उहाँले भनेको कुरामा त्यति सत्यता थिएन। तर, मेरो विषयमा साँचो थियो। म यस्तो किन गर्थे भने मलाई उहाँको पितृवत (बुवा) को व्यवहार राम्रो लाग्दैन्थ्यो। उहाँ बुवा जस्तै व्यवहार गर्न खोज्नु हुन्थ्यो। अरुको विचार सुन्ने धैर्यता उहाँसँग थिएन। चाहे जति नै राम्रो विचार भएपनि अरुको विचार सुन्न चाहनु हुन्थेन। उहाँ आफ्नो सोचभन्दा अलग विचार कसैले राखेको मन पराउनु हुन्थेन। वास्तवमा उहाँ अस्वस्थ्य, सामन्ती ढंगको व्यवहार गर्नु हुन्थ्यो। जब तपाई यसलाई बुझन सक्नु हुन्न भने ‘सांस्कृतिक क्रान्ति’ किन भयो, यो पनि बुझनु हुन्न।
प्रकाशित मिति: : 2019-10-07 16:31:35

प्रतिकृया दिनुहोस्