नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सिद्धान्त लोहनीको विहिबार देब्रे लिगामेन्टको सल्यक्रिया भएको छ। उनी ६ महिना विश्राममा रहने छन्। उनको काठमाडौंस्थित ‘बी एन्ड बी’ अस्पतालमा सल्यक्रिया भएको हो।
करिब डेढ महिनाअघि काठमाडौंमा आयोजना भएको पीएम कप क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशविरूद्ध खेल्ने क्रममा लिगामेन्टमा चोट बोकेका थिए।
उनी प्रदेश नम्बर १ बाट सहभागी थिए। उनले त्यो खेलमा ६३ रन बनाएका थिए। उनले २०१५ मा जर्सीविरूद्ध टि–२० आइसिसी विश्व कप छनोटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। जर्सीविरूद्ध १६ बलमा २७ रन बनाउँने क्रममा उनले २ छक्का प्रहार गरेका थिए, जसमा एउटा ‘हेलिकोप्टर सर्ट’ समावेश थियो।
यसपछि उनले कुनै अन्तर्राष्ट्रिय खेलमा मौका पाएका छैनन्। राष्ट्रिय प्रतियोगितामा उनको प्रदर्शन लोभलाग्दो छ।
उनी ६ महिनापछि खेलमा फर्किने परिवारीक श्रोतले जानकारी दिएको छ।