सफलताको कथा–१ 

नेपालकी एक्ली महिला अर्थोपेडिक डाक्टर शिलु : जसले १० हजार बढीलाई बचाइन् (भिडियो)

सानै उमेरमा डाक्टर बनेर बिरामीलाई नयाँ जीवन दिन सफल भएकी उनी कयौँ महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन्। 

BreaknLinks
BreaknLinks

राष्ट्रिय ट्रमा सेन्टरकी प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन्, ‘डाक्टर’ शिलु श्रेष्ठ। उनी हात–खुट्टा भाँचिएको, काटिएको, नसा चुँडिएको, हात र खुट्टामा चोटपटक लगेका बिरामीको शल्यक्रिया तथा उपचार गर्छिन्।

डेढ दशकदेखि डाक्टर पेशामा पोख्त रहेकी उनले हालसम्म १० हजार भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेकी छिन्। सानै उमेरमा डाक्टर बनेर बिरामीलाई नयाँ जीवन दिन सफल भएकी उनी कयौँ महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन्। 

शिलु श्रेष्ठको डाक्टरसम्मको यात्रा 

पाटनकी शिलु श्रेष्ठ आफ्नो भविष्यलाई लिएर अन्योलमा थिइन्। उनलाई थाहै थिएन भविष्यमा के गर्ने भनेर। तर कक्षा–९ अध्यनरत हँदा उनकाे साेच डाक्टरतर्फ माेडियाे। जसको कारण थिइन्, उनी आमा।

शिलुकी आमा र बुबाको विवाह अन्तरजातीय थियो। आमा सोलुखुम्बुकी ‘राई’ बुबा पाटनका थेटर ‘नेवार’। आमा गाउँबाट सहर पढ्न आएकी र बुबा पाटनकै रैथाने। त्यसैले उनको बाआमाको वैवाहिक सम्बन्धलाई कसैले स्वीकारेनन्।  त्यसैमाथि ‘छोरा’ चाहिने समाजमा दुईटी छोरीलाई जन्म दिएपछि त झनै आमालाई घर भित्र्याउने कुरै थिएन। सासूसूराले बुहारी भनेर नअपनाएपछि आमा दुई छोरीलाई चेपेर डेरा लिएर बसिन्।

श्रीमानकाे घर छाडेर डेरामा बस्न थालेकी शिलु र उनकी बहिनीलाई आमाले सानोतिनो काम गरेर जसाेतसाे पढाउन थालिन्। आफूहरुलाई आमाले दुख गरेर हुर्काइरहँदा शिलुका बुबा भने कहिलेकाहीँ मात्र घर आउने गथे।

ललितपुरकै रैथाने भएपनि छुट्टै डेरा लिएर आमासँग बसेकी शिलु सात कक्षा पढ्न थालेपछि मात्रै बुबाको घरमा बस्न थालिन्।

बुबाको घरमा बस्न थालेपछि उनले कहिले नपाएकाे हजुर बाआमाकाे माया पाइन्। खुसी थिइन्, उनी। तर कक्षा ९ पुगेपछि उनीमाथि दुखकाे पहाड खस्याे। ज्यानभन्दा प्यारी आमा थला परिन्।

मेनेन्जाइटिसका कारण स्वास्थ्य अवस्था जटिल भएकी आमालाई पाटन अस्पताल लगियो। आमा बिरामी भएकाे कारण उनी दुखी भइन्। त्यसैले आमालाई अस्पताल पुर्याएपछि शिलुको अधिकांश दिनपनि अस्पतालमै बित्न थाल्याे।

बिरामी आमालाई डाक्टर, नर्स र स्वास्थ्यकर्मीले गरेको राम्रो व्यवहारले उनमा थप आत्मबल मिल्थ्यो। उनी साेच्ने गर्थिन्, अब मेरी आमा छिट्टै निकाे हुनुहुन्छ। तर उनी उत्तिकै निराश पनि हुन्थिन्, जब डाक्टरले बिरामीसँग तीतो व्यवहार गथे। त्याे देखेर उनी हताश हुन्थिन्।

लामोसमय अस्पतालमा उपचार गरेकी आमा निको भइन्। आमालाई सन्चो भएको देखेर खुसी भएकी शिलुले अस्पतालबाट डिस्चार्ज लिइन् र अस्पताल बाहिरिदै गर्दा उनले  आफैँसँग प्रण लिइन्,  ‘भविष्यमा बनेछु भने डाक्टर नै बन्छु, नभए केही बन्दिनँ, केही गर्दिनँ।’

आमा बिरामी भएपछि डाक्टर बन्ने प्रण लिएकी उनी अस्पतालबाट घर फर्किएपछि  पढाईमा व्यस्त हुन थालिन्। उनको दैनिकी नै बनेको थियो, ‘स्कुल टू घर’, ‘घर टू स्कुल’।

उनलाई छिट्टै डाक्टर भएर आमालाई देखाउनु थियो। त्यसैले उनी खाली भएकाे समय पनि पढ्नमा नै बिताउथिन्। ‘मलाई डाक्टर बन्ने यतिधेरै रहर थियो कि मैले पढाईबाहेक अरु केही नै देखिनँ’ उनी भन्छिन्, ‘मलाई छिट्टै डाक्टर हुनुथियो। आमालाई डाक्टर बनेर खुसी बनाउनुथियो।’

पढाईमा तेजिली उनले ललितपुरको मानभवनस्थित ‘आदर्श विद्या मन्दिरबाट’ २०५५ मा एसएलसी उत्तीर्ण गरिन् र ‘प्लस टु’ क्याम्पियन एकेडेमीबाट पूरा गरिन्।

काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलबाट सन् २००६ मा एमबिबिएस अध्ययन पूरा गरेकी उनी २००७ अर्थात् २२ वर्षको उमेरमा डाक्टर भइन्।  डाक्टर बनेकी उनी यतिधेरै हर्षित थिइन् कि उनकाे खुसीकाे कुनै सिमा नै थिएन।  ‘डाक्टर भएपछि मैले सेताे काेट लगाएर हिडेँ, म धेरै नै खुसी भएकी थिएँ’ उनले भनिन्। 

अर्थोपेडिक डाक्टर बन्ने ‘हुटहुटी’

सानो मस्तिकमा डाक्टर बन्ने अठोट लिएकी शिलुलाई लाग्थ्यो, डाक्टर भनेको सर्जरी गर्नु हो। त्यसैले उनले आफू के सम्बन्धी डाक्टर बन्ने केही सोचेकी थिइनन्।

एमबिबिएस अध्ययनपछि उनी बीएण्डबी अस्पताल आवद्ध भइन्। त्यसपछि उनले काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको अर्थोपेडिक्स विभागमा काम थालिन्। त्यही अस्पतालमा उनले बालबालिकाको हात–खुट्टाको शल्यक्रिया गरेको देखिन्। जसकारण उनी अर्थोपेडिकतर्फ आकर्षित हुँदै गइन्।

अर्थोपेडिक्स सर्जरी विषय आफूलाई विज्ञान तथा कला मिश्रित विषय लागेको बताउँदै उनले भनिन्,‘हात–खुट्टा ठिक ठाउँमा ल्याउने रिकन्स्ट्रक्टिभ कला मन पर्याे।’

आफू अर्थोपेडिक सर्जन बन्छु भन्दा उनलाई कसैले पत्याएनन् बरु उल्टै महिला भएर अर्थोपेडिक सर्जन नबन्न सल्लाह दिन्थे। ‘त्यो बेला अर्थोपेडिक महिला डाक्टर कोही थिएनन् त्यसैले म अर्थोपेडिक डाक्टर बन्न चाहन्थेँ’ उनी भन्छिन्, ‘म अर्थोपेडिक सर्जन बन्नकै लागि जन्मिएकी जस्तो लाग्यो।’

अर्थोपेडिक्स सर्जन हुने निधाे गरेकी उनले काठमाडौं विश्वविद्यालयमा एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि परीक्षा दिइन्। परीक्षामा उनी उत्तीर्ण भइन्। 

लिखित परीक्षामा नाम निकाल्न सफल भएकी उनी मौखिक परीक्षा दिन गइन्। अर्थोपेडिक्स सर्जरी विषय छनोट गरेको देखेर आश्चर्य मानेका परीक्षामा बसेका विज्ञहरुले उनलाई महिलाहरूका लागि शल्यक्रिया गर्ने विषय ठिक हुँदैन भन्दै सुझाव दिए। 

अर्थोपेडिक डाक्टर बन्ने सोचेकी उनले मौखिक परीक्षा दिइन् तर दुर्भाग्यबस उनी परीक्षामा असफल भइन्। मौखिकमा छनोट नभएपछि निराश भएकी उनले जसरी भएपनि अर्थोपेडिक्स सर्जरी विषय नै पढ्ने निधो गरिन्।

नभन्दै परीक्षामा फेल भएकाे वर्ष दिनपछि उनले काठमाडौं विश्वविद्यालयमा एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिइन्। छनाेटमा नाम निकालेकी उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत बीएण्डबी अस्पतालमा स्नातकोत्तर तहको अध्ययन गर्न पाइन्। अर्थोपेडिक्स पढ्न पाएको त्यो दिन उनका लागि सबैभन्दा खुसीको दिन थियो।

उनले सन् २०१० देखि अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गर्न थालिन् र तीन वर्षपछि एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिन्।

डा. शिलुले सन् २०१३ देखि सन् २०१४ सम्म सिंगापुर नेसनल युनिभर्सिटी अस्पतालमा ह्याण्ड एण्ड रिकन्स्ट्रक्टिभ माइक्रो सर्जरी विषयमा एक वर्षे क्लिनिकल फेलोसिप गरिन्। जसले उनमा सर्जरी सम्बन्धी थप ज्ञानको विकास भयो।

सिंगापुरबाट फर्केपछि उनले बीएण्डबी अस्पतालमा काम गर्न थालिन्। बीएण्डबी र बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा उनले चार वर्ष काम गरिन्।

अपांग बाल अस्पतालमा काम गर्दा उनलाई बालबालिको हातमा हुने विभिन्न समस्याका लागि सर्जरीको ज्ञान थप अध्ययन गर्नुपर्ने महसुस भयो। र उनी सन् २०१६ मा अमेरका गइन्। अनि त्यहीबाट आफूले थाहा नपाएको विषयमा अध्ययन गरेर उनी नेपाल फर्किइन्। 

अर्थोपेडिक्स सम्बन्धीका सबै ज्ञान प्राप्त गरेकी शिलुले लोकसेवा परीक्षा दिइन्। जसमा उनी सफल भइन् र ११औं तहको अर्थोपेडिक्स सर्जन चिकित्सकका रुपमा सरकारी जागिरे भइन्। सरकारी जागिरे भएकी उनी राष्ट्रिय ट्रमा सेन्टरकी प्रमुख भइन्। 

जब डाक्टर शिलुलाई बिरामीले नै पत्याएनन्

आमाको कारण डाक्टर बनेकी शिलु मिजाशिली स्वभावकी थिइन्। त्यसैले उनले धेरै ठाउँमा हन्डर खाइन्। उनलाई डाक्टर भनेर कसैले पत्याएनन्। अपांग बाल अस्पतालमा काम गर्दाको क्षण उनलाई अझै याद छ। जतिबेला उनलाई बिरामीका बुबाले थर्काएका थिए।

खाजा खान गएका साथीहरुलाई छोडेर शिलु ओपिडीमा बिरामीको स्वास्थ्य जाँच गरिरहेकी थिइन्। त्यहीबेला एक अधबैंसे व्यक्ति छोराको खुट्टा बांगिएको भन्दै आत्तिएर अस्पताल आइपुगे। अस्पताल छिरेका ती व्यक्तिले शिलुलाई हपार्दै भने, ‘ए सिस्टर डाक्टरलाई बोलाइदिनस् त।’

ती व्यक्तिको कुरा सुनेर उनले जवाफ फर्काइन्, ‘म नै हुँ डाक्टर, म हेर्छु नि!’ शिलुको कुरा सुनेर झोक्किएका ती व्यक्तिले भने, ‘यति टाढादेखि आएर पनि सिस्टरलाई देखाउनुपर्ने?’

उनै व्यक्तिको कुरा सुनेर चित्त दुखाएकी शिलुले बाध्यताबस, ‘केहीबेर बस्नुहोस्। डाक्टरलाई बोलाइदिन्छु’ भन्दै खाजा खाइरहेका साथीहरु भएको ठाउँमा पुगिन्। र अरु डाक्टर साथीहरुलाई घटनाको विस्तार लगाइन्।

उनको कुरा सुनेर सबै साथीहरु खित्का छोडेर हाँस्न थाले। पुरुष डाक्टर साथीहरुको हाँसोले उनी झनै निराश भइन् र भक्कानिदै रुन थालिन्। ‘मलाई त्यो दिन निकै नमज्जा लागेको थियो। मैले आफू डाक्टर हुँ भनेर प्रमाण समेत गर्न सकिनँ’ बिएल नेपलाी सेवासँग दुखेसो पाेखिन्।

उनलाई अहिलेपनि डाक्टर हुँ भन्दा धेरै पत्याउँदैनन्। उनलाई भेट्न आएका बिरामीहरू पनि उनी नै डाक्टर ‘शिलु श्रेष्ठ’ हुन् भन्दा आश्चर्य मान्छन्।

‘मलाई भेट्न आएका बिरामीलाई उनको रोगको बारेमा सोध्दा मन नलागी–नलागी मुन्टो बटार्दै ‘अँ, यस्तो भएको। डाक्टरसाब हुनुहुन्न? भनेर प्रश्न गर्छन् तर मैले म नै डाक्टर शिलु हुँ भनेपछि बिरामी चकित हुन्छन्’ उनी सुनाउँछिन्, ‘तपाई नै डाक्टर शिलु हाे भनेर उल्टो प्रश्न गर्छन्।’ डाक्टर भएपनि बिरामीको अपमान झेल्नुपर्दा दुख लाग्ने गरेकाे उनी बताउँछिन्। 

नेपालकी एक्ली महिला अर्थोपेडिक डाक्टर बनेकी शिलु 

नेपालमा तीन जना महिला अर्थोपेडिक डाक्टर छन्। जसमध्येकी एक हुन्, डाक्टर शिलु श्रेष्ठ। उनी नेपालकी दोस्रो महिला अर्थोपेडिक सर्जन हुन्। तर उनी अहिले नेपालकी एक्ली महिला अर्थोपेडिक डाक्टर भएकी छन्। 

दुई महिला अर्थोपेडिक डाक्टर विदेश पलायन भएपछि आफू एक्ली महिला अर्थोपेडिक सर्जन भएकाे उनले बताइन्। उनी भन्छिन्, ‘यदी मेरो एक वर्ष लस्ट नभएको भए म नै नेपालीकी पहिलो महिला अर्थोपेडिक डाक्टर हुन्थेँ।’ 

अर्थोपेडिक दुई महिला डाक्टर विदेश गएपनि आफू भने स्वदेशमै बसेर बिरामीको उपचार गर्ने उनी बताउँछिन्।

नेपालभर अर्थोपेडिकका डाक्टर सात सय जना छन्, जसमध्ये आफू एक्ली महिला अर्थोपेडिक सर्जन भएकाे सुनाउँदै उनी अरू डाक्टर महिलालाई  पनि आफू जस्तै अर्थोपेडिक डाक्टर बन्न आग्रह गर्छिन्।

‘यो विषयमा म एक्ली महिला डाक्टर छु। त्यसैले अरु महिला डाक्टरलाई पनि यो विषयमा आउन अनुरोध गर्छु’ उनले भनिन्, ‘महिला र पुरुष डाक्टर मिलेर सहकार्य गर्यौँ भने अवश्य नै राम्रो हुनेछ।’ निरन्तरता र धैर्यता नै सफल मानिसकाे ‘राज’ भएको बताउँदै उनी मेहनतसँग काम गर्न बताउँछिन्। 

प्रकाशित मिति: : 2023-03-14 17:18:00

प्रतिकृया दिनुहोस्