मलेसियाविरूद्ध नेपाल फिल्डिङमा (LIVE)

तस्बिरः एजेन्सी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गरिरहेको छ।

किनारारा ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

नेपालले आज युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, पवन सरार्फ र अभिनास बोहोरालाई सुरूवाती ११ मा राखेको छैन ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

नेपालको ११ सदस्य टोली :

१.पारस खड्का(कप्तान)

२.ज्ञानेन्द्र मल्ल

३.शरद भेषवाकर

४.वसन्त रेग्मी

५.सोमपाल कामी

६.प्रदीप ऐरी

७.सन्दीप लामिछाने

८.रोहित कुमार पौडेल

९.विनोद भण्डारी

१०.करण केसी

११.ललित नारायण राजवंशी

मलेसिया नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । नेपालको लक्ष्य पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ। नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ।

आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो। माघमा भएको सो सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो ।

 हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

 

 

प्रकाशित मिति: : 2019-07-13 08:40:06

प्रतिकृया दिनुहोस्