इंग्ल्यान्डलाई विश्व कप जिताएका ट्रेभोर बेलिस फेरि आइपिएल फर्किदै

Agency

इंग्ल्यान्डलाई ऐतिहासिक विश्व कप जिताएका इंग्लिस प्रशिक्षक ट्रेभोर बेलिस इन्डियन प्रिमियर लिग (आइपिएल) सँग जोडिन पुगेका छन्। उनलाई सनराइजर्स हैदराबादले आउँदो सिजनका लागि आफ्नो प्रशिक्षक अनुबन्धित गरेको छ।

यसअघि हैदराबादको प्रमुख प्रशिक्षक अस्ट्रेलियाका टम मुडी थिए। आइपिएल क्लबले यसको जानकारी विहिबार आफ्नो अफिसियल ट्वीटर अकाउन्टमार्फत दियो।

बेलिसले इंग्ल्यान्डको प्रशिक्षक पदबाट राजीनामा गरेका छैनन्। उनी अस्ट्रेलियाविरूद्ध परम्परागत एशेज श्रृंखलाका लागि पनि मुख्य प्रशिक्षक रहने छन्। लगत्तै उनको कार्यकाल समाप्त हुँदैछ।

बेलिसले यसअघि पनि आइपिएलमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। उनले सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए।

उनी २००७ देखि २०११ सम्म श्रीलंकाको मुख्य प्रशिक्षक थिए। यी दुवै बेला श्रीलंका विश्व कपको फाइनल प्रवेश गरेको थियो। तर, दुवै पल्ट श्रीलंका पराजित भएको थियो।

प्रकाशित मिति: : 2019-07-18 16:50:45

प्रतिकृया दिनुहोस्