मिसन २०-२० विश्वकपमा नेपाल, आज सिंगापुर जाँदै

Agency

काठमाडौं । आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप प्रतियोगिताको छनोटका लागि नेपाली क्रिकेट टिम दोस्रो खुड्किलोमा छ।

गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन्न टी-२० विश्वकप छनौट (एसिया बि) प्रतियोगिता जितेको नेपाली टिम अब ग्लोबल छनोटमा पुग्न टी-२० विश्वकप छनोट एसिया फाइनलका  लागि सिंगापुरमा भिड्नेछ। टि-२० विश्वकप छनोट खेल्न नेपालले एसिया फाइनल प्रतियोगिता जित्नुपर्नेछ।

२२ जुलाई देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार मलेसियाबाट त्यसतर्फ प्रस्थान गर्नेछ।

मलेसियामा २ वटा टी-२० सिरिज खेल्दै दुवै खेल जितेको टिम उच्च मनोबलसहित सिंगापुर प्रस्थान गर्न लागेको हो।

विश्वकप छनोट खेल्न आयोजक सिंगापुर सहित कुवेत, मलेसिया, नेपाल र कतार गरि ५ टिम सहभागी छन्।

पूर्वी क्षेत्रका ७ राष्ट्र बीच भएको प्रतियोगिताबाट ३ राष्ट्रले एसिया फाइनलका लागि स्थान बनाउने भएकाले नेपालसँगै मलेसिया र सिंगापुर समेत छनोट भएका थिए।

पश्चिम क्षेत्र अन्तर्गत युएई, कतार र कुवेतले एसिया फाइनलका लागि स्थान बनाएका थिए। विश्वकप छनोटको आयोजकको रुपमा युएईले एसिया फाइनल खेल्ने छैन।

एसिया फाइनलको विजेताले आगामी ११ अक्टोबरदेखि युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा स्थान बनाउने छ।

प्रतियोगितामा क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसँगै गत संस्करणको टी–ट्वान्टी विश्वकप खेलेका हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुनेछ।

ग्लोबल छनोटबाट उत्कृष्ट ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्न छानिने छन्।

सिंगापुरको मैदानमा सहभागि सबै टिम भन्दा बलियो र उपाधिको प्रबल दावेदारका रुपमा हेरिएको नेपाली टिमले मलेसियामा १० दिनको क्याम्प सम्पन्न गरेको छ। २०१४ को टी २० विश्वकप खेलेपछि नेपाली टिमले यो विश्वकप खेल्न उत्कृष्ट अभ्याससमेत गरेको छ।

मलेसियासँगको सिरिजमा नेपालले दुवै जित दर्ता गरे पनि नेपालले अझै सुधार गर्नुपर्ने ठाउँहरु रहेको कप्तान पारस खड्काले बताएका छन्।

मलेसियाविरूद्ध पारस खड्का, शरद भेसवाकर र बिनोद भण्डारीले रन बनाए पनि अन्य ब्याट्सम्यानले लय पाउन सकेका छैनन्।

नेपालको ओपनिङ साझेदारी उत्कृष्ट हुन सकेको छैन। हालसम्म नेपालको टी ट्वान्टीआईमा पहिलो विकेट अर्थात ओपनिङ साझेदारी ३६ रनको मात्रै गर्न सकेको छ। जुन सन् २०१४ को विश्वकपमा सुवास खकुरेल र सागर पुनले हङकङसँगको खेलमा ३६ रनको साझेदारी गरेका थिए।

कप्तान पारस खड्का आफैं ओपनर रुपमा मैदान उत्रन थालेका छन्। पारसले मलेसियासँगको खेलमा ओपनिङ गर्दै ८६ रनमा अविजित रहेका थिए। पहिलो खेलमा प्रदिप ऐरी र दोस्रोमा पवन सरार्फले पारसलाई साथ दिएका थिए। विश्वकप एसिया छनोटमा पारसलाई यी दुई मध्य एकले साथ दिने छन्। मलेसियासँगको दोस्रो टी ट्वान्टी खेलमा पवन र पारसले ३४ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्र मल्ल, पवन सर्राफ, रोहित पौडेल, प्रदिप ऐरी जस्ता ब्याट्सम्यानहरुले लय पाउन सकेका छैनन्।

प्रधानमन्त्री कप प्रतियोगिताको दौरान फाइनलमा क्याच समात्दा औलाँमा चोट लागेपछि घाइते भएका दिपेन्द्र ऐरीले अभ्यासमा ब्याटिङ गरिरहेकाका छन्।

मलेसियासँग २ वटै टी-२० नखेलेका उनि प्रतियोगता अघि शतप्रतिशत फिट हुने बताईएको छ। उनको आगमनले नेपालको ब्याटिङक्रमले मजबुती पाउने विश्वास गरिएको छ।

सिंगापुरमा नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्ने छ। त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्ने छ। २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्ने।

२०१४ को टी २० विश्वकप खेलेपछि नेपाली टिमले यो विश्वकप खेल्नका लागि फेरि एकपटक आतुर छ। यो बिचमा नेपाली टिमले विश्वकप छनोट खेले पनि सफल हुन सकेन। तर यसपटक एशिया क्षेत्रीय छनोटमा शीर्ष स्थानमा रहदै ग्लोबल क्वालिफार्यसका लागि छनोट हुने नेपाली टिमका लागि राम्रो मौका छ।

नेपाली टोली :

पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी।

प्रकाशित मिति: : 2019-07-20 11:12:33

प्रतिकृया दिनुहोस्