विश्व कप विजयको सपना देखेको भारत एकदिवसीय क्रिकेटको विश्व कपमा न्युजिल्यान्डद्धारा सेमिफाइनलमा १८ रनले पराजित भएपछि भारतीय खेलाडीहरू आत्म समीक्षाभन्दा पनि एकअर्काको कमजोरीमा हिलो छ्यापाछ्याप गर्न व्यस्त देखिन्छन्।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को व्यवस्थापकीय समितिमा अहिले सिनियर खेलाडीबीचको मतभेद उजागर भइरहेको छ।
विश्व कपबाट बाहिरिए लगत्तै भारतीय सञ्चारमाध्यमले सिनियर खेलाडी कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच गम्भीर मतभेद रहेको समाचार प्रकाशित गरेको थियो।
विश्व कप भइरहँदा श्रीमतिलाई आफूसँगै लामो समय राखेको विषयलाई लिएर बिसिसीआईको व्यवस्थापकीय समितिसमक्ष उजुरी परेको छ।
बिसिसीआईले विश्व कपका लागि नियम बनाउँदा खेलाडीहरूले १५ दिन मात्र आफ्नो परिवारलाई सँगै राख्न पाउने बताएको थियो।
तर, सिनियर खेलाडीले नियमको उलङ्घन गरेको आरोप लगाइएको छ। विश्व कपमा भारतको पराजय र अघिल्लो रणनीतिलाई लिएर आइतबार बिसिसीआईको बैठक बस्दैछ।
तीन वर्षदेखि भारतीय टिमका प्रशिक्षक रहेका रवी शास्त्रीलाई हटाएर अरुलाई जिम्मेवारी दिने विषयमा पूर्व कप्तान कपिल देवको संयोजकत्वमा एउटा कमिटी गठन भइसकेको छ।
कप्तान कोहलीको विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन।