साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली महिला टिमलाई प्रदेश सरकारको सम्मान

बीएल

विराटनगरमा चार महिना अघि सम्पन्न भएको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रदेश १ सरकारले मंगलबार नगदसहित सम्मान गरेको छ ।

विराटनगरमा एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १–१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् । सम्मानित हुने खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेशसरकारले उच्च प्राथामिकता राखेर अगाडि बढेको बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकदु क्षेत्रमा सबैभन्दा बढी बजेट बिनायोजन गरेको जानकारी दिँदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडि बढ्ने बताए । ‘प्रदेश सरकारले खेलकुद क्षेत्रलाई छायामा पर्न दिँदैन,’ मुख्यमन्त्री राईले भने, ‘खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार सधै‌ भरी लागि पर्नेछ ।’

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । प्रदेश सरकारले साफ विजेता भएको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो । तर, उपविजेता बनेपछि प्रदेश सरकारले १–१ लाख रुपैयाँ मात्रै दिएको हो ।

यस्तै सोमबार नेपाली टोलीलाई विराटनगर महानगरपालिकाले पनि जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद रंगशालामा भएको पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो । नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौं पटक साफ च्याम्पियन बनेको थियो ।

 

प्रकाशित मिति: : 2019-07-23 22:25:30

प्रतिकृया दिनुहोस्