पाकिस्तानी क्रिकेटलाई १० दिनभित्र दुई ठूलो झट्का लागेको छ। पाकिस्तानका अर्का स्टार बलर वाहब रियाजले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। १० दिनअघि मोहम्मद आमिरले टेस्टबाट सन्यास लिएका थिए।
यी दुबै हालै सम्पन्न एकदिवसीय विश्व कपमा पाकिस्तानी टिमका प्रमुख सदस्य थिए।
पाकिस्तानी मिडियाका अनुसार लेफ्ट आर्म तीब्र बलर वहाबले आफ्नो सन्यासको विषयमा पाकिस्तान क्रिकेट बोर्डलाई जानकारी दिइसकेका छन्।
वहाब हाल क्यानडामा जारी ग्लोबल टि–२० क्रिकेटमा सक्रिय छन्। उनले पाकिस्तान फर्किएपछि यसको औपचारिक घोषणा गर्ने पाकिस्तानी मिडियाले बताएको छ।
३४ वर्षीय वहाब अन्तिमपल्ट २०१८ को अक्टुबरमा टेस्टमा देखिएका थिए।
वहाबले इंग्ल्यान्डविरूद्ध २०१० मा डेब्यु गरेका थिए। उनले पाकिस्तानका लागि कूल २७ टेस्ट मात्र खेलेका छन्, जसमा उनी ८३ विकेट लिन सफल भएका थिए।
२७ वर्षीय आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि पाकिस्तानका दिग्गज खेलाडीले उनको आलोचना गरेका थिए।
वासिम अक्रम, रमिज राजा र शोएब अख्तर जस्ता तीब्र बलरले आमिरको निर्णय प्रति असन्तुष्टी जाहेर गरिसकेका छन्।
याे पनि पढ्नुहाेला।
नेपालकाे पहिलाे अन्तर्राष्टूिय महिला खेलाडीकाे कहानी