उज्वेकिस्तानसँग नेपाल २-० ले पराजित

तस्बिरः एन्फा

किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ। नेपालले दुवै हाफमा १-१ गोल खाएको हो ।

अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा आक्रमणमा केहि कमजोर देखिएको नेपालले पाएका केही राम्रा मौका खेर फालेपछि हार व्यहोर्न बाध्य भयो।

खेलको ३४ औं मिनेटमा उज्बेकिस्तानले सुरूवाती अग्रतालिएको थियो। उज्बेकिस्तानको हाफबाट आएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा उज्बेकिस्तानकी फरवार्डले गोल गर्दै अग्रता लिन सफल भइन्।

उनको पहिलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले वन भर्सेस वन स्थितिमा बचाए पनि रिबाउन्डमा आएको प्रहार खाली पोस्टमा गोल भएको थियो।

यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा उज्बेकिस्तानकी खेलाडीको प्रहार गरेको बल क्रसबारमा लगेर फर्किएको थियो।

दोस्रो हाफको सुरुवातमै उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो। नेपालका तीन खेलाडीलाई छक्याउँदै उज्बेकी खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन्। तर, एन्जिलाले ७१ औं मिनेटमा राम्रो बचाउ गर्दै गोलअन्तर बढ्न दिइनन्।

खेलको १४ औं मिनेटमा कप्तान निरू थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन्। मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन् । स्ट्रेचरमा मैदानबाहिर लगेपछि उनको स्थानमा मिडफिल्डर सरु लिम्बू मैदान प्रवेश गरेकी थिइन्।

नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ। आजै हुने दोस्रो खेलमा किर्गिस्तान र ताजिकिस्तान भिड्नेछन्। उज्बेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

हिजो भएको खेलमा उज्बेकिस्तानले ताजकिस्तानलाई १२-० तथा नेपालले किर्गिस्तानलाई ८-२ ले पराजित गरेका थिए।

प्रकाशित मिति: : 2019-09-09 14:41:47

प्रतिकृया दिनुहोस्