अभागी धरानलाई ४–१ गाेलले हराउँदै सिलिगुडीलाई बेलबारी गोल्डकपको उपाधि

बिएल

भारतको रोयल फुटबल क्लब सिलिगुडीले मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो। धरानमाथि सानदार जित निकालेको उसले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। घरेलु मैदानमा निराश बनेर उपविजेतामा खुम्चिएको धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई पराजित गरेर धरान र एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनल पुगेका टिम हुन्। मध्यान्तर अघिसम्म समान प्रदर्शन गरे पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो रहयो। खेलाडीबीच आपसी तालमेल मिल्न नसक्दा र फिनिसिङ कमजोर हुँदा धरान उपाधिविहीन बन्यो ।

स्ट्राइकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलमा धरानमाथि हावी देखिएको सिलिगुडीले सुरुवाती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए । पहिलो हाफ १–० को अवस्थामा सकियो । ५७ औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो । रक्षापंक्तीका मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई विट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।

सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो । सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए । कैलास बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि वित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका हुन् ।

उमेश राईले ७४ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए । ६० औं मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए ।

डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए ।

सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिता भर ३ गोल गरेका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मंगलबारलाई सरेको हो ।

प्रकाशित मिति: : 2019-10-01 22:41:11

प्रतिकृया दिनुहोस्