च्याम्पियन्स लिगअन्तर्गत अस्ट्रियाको क्लब साल्जबर्गविरूद्ध दुई गोल गर्ने क्रममा ड्राइस मर्टेसले विश्व फुटबलका हस्ती अर्जेन्टिनाका डिएगो म्याराडोनाको कीर्तिमान भंग गरेका छन्।
इटाली क्लब नेपोलीका यी स्ट्राइकरले ३–२ ले विजयी खेलमा १७ र ६४ मिनेटमा गोल गरेका थिए। साल्वबर्गलाई उसैको घरेलु मैदानमा पराजित गर्न मर्टेसले उत्कृष्ट प्रदर्शन गरेका थिए।
मर्टेस अब नेपोली क्लबका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी पनि बन्न पुगेका छन्। म्याराडोनाले नेपोली क्लबका लागि १ सय १५ गोल गरेका थिए। उनको कीर्तिमान भंग गर्दै मर्टेसले १ सय १६ गोल पुर्याएका छन्।
नेपोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान मारेक हेमसिकको नाममा छ। उनले १ सय २१ गोल गरेका छन्। नेपोली ३ खेलमा ७ ंअंकसहित समूह ‘इ’ को शीर्षस्थानमा छ।