विमल,अन्जन र दिनेश सागको टिमबाट पनि फालिए, यस्ता‍े हुँदैछ कारबाही

अखिल नेपाल फुटबल संघ एन्फाले कारबाही गरेका चार खेलाडीमामध्ये आसन्न दक्षिण एसियाली खेलकुद सागको टिममा परेका तीन खेलाडीलाई हटाएको छ।

सागका लागि टिममा परेका अञ्जन विष्ट, विमल घर्तिमगर र दिनेश राजवंशीलाई टिमबाट निकालेर उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ र राजिब लोप्चाङलाई टिममा बोलाइएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए।

नयाँ तीनै जना खेलाडीले एन्फा एकडेमी हुँदै नेपालको उमेर समूहमा खेलिसकेका छन्। यसअघि सागको क्याम्पमा विमल, अन्जनर दिनेश पनि थिए। सन्तोष तामाङ भने साग टोलीमा थिएनन्।

यो सँगै कारबाहीमा परेका विमल, अञ्जन र दिनेशले घरेलु मैदानमा साग खेल्न नपाउने भएका छन्। यद्यपी यस विषयमा एन्फाले भने आधिकारिक धारणा निकालेको छैन।

कुवेतविरुद्धको खेलका लागि भुटान जानुभन्दा ठिक अघिल्लो दिन विमल, अञ्जन र दिनेशले रातभर क्लबमा बिताएको भन्दै कारबाहीस्वरुप टिमबाट हटाइएको थियो।

के भएको थियो?

विश्वकप छनोटमा कुवेतविरुद्धको खेल खेल्ने नेपाली टोलीका सदस्यहरुलाई एन्फाले ललितपुरको कुपन्डोलस्थित सांग्रीला ब्लु होटलमा राखेको थियो। शुक्रबार साँझ करिब साढे ६ बजेतिर विमलसहितका चार खेलाडी मोटरसाइकलमा त्यहाँबाट निस्किएका थिए। उनीहरुको मोटलसाइकल ठमेल तिर हुँइकियो। त्यसपछि उनीहरु झण्डै ५–६ घण्टासम्म हराए, होटल फर्किएनन्।

भोलिपल्ट बिदाई कार्यक्रम थियो। तर, मुख्य खेलाडीहरु नै राति अबेरसम्म गायव हुँदा टोलीका अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए। भोलिपल्ट उनीहरुलाई टोलीबाट बर्खास्त गरिएपछि सबै घटना बाहिर आयो।

प्रशिक्षक योहान कालिनले अघिल्लो रातको घटनाक्रमबारे बताएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर शुक्रबार रातिको घटनाबारे जानकारी लिएका थिए।

उक्त सोधपुछमा खेलाडीहरुले आफ्नो बचाउमा पदाधिकारीहरुसँग रातभरि ठमेलमा घुमेको स्वीकार्दै मोटरसाइकल दुर्घटनामा चोट लागेको बताएका थिए। 

‘बिहानसम्म पनि उनीहरुबाट मदिराको दुर्गन्ध आइरहेको थियो। अनुहारमा पनि चोट देखिन्छ। राति होटलबाट गएर गायब भएका थिए,’ एक पदाधिकारीले बिएल नेपाली सेवासँग भने, ‘सबै पक्ष हेर्दा उनीहरु घुमेर मात्रै फर्किएको कुनै पनि हालतमा पुष्टि हुँदैन। उनीहरुले त्यहाँ मदिरा सेवन गरेको तथा झैझगडा गरेको पनि शंका गरिएको छ।’

विमल र अन्जनले यसअघि पनि मापसे सेवन गरि एन्फा एकेडेमीमा पनि यसअघि होहल्ला गरेका थिए। सीसीटिभीबाट त्यो पुष्टि भएपछि उनीहरुलाई त्यसबेला एन्फाले सचेतमात्रै गराए छाडेको उक्त पदाधिकारीले जानकारी दिए।

अब के हुन्छ?

यसरी राति डिस्कोमा गएको, मदिरा सेवन गरेको आरोप लागेका कारण एन्फाले खेलाडीलाई टिमबाटै हटाउने कडा कदम चालेको यो पहिलो पटक हो। तर के कारबाही गर्ने एन्फासँग प्रष्ट नियम छैन।

यसका साथै उनीहरुमाथि म्याच फिक्सिङका विषयमा पनि अनुसन्धान भइरहेको एन्फाले बिएल नेपाली सेवालाई बताएको छ। फिफाले नै कुवेतविरुद्धको खेलको १५ दिन अगाडि एन्फाका इन्टिग्रेटेड अफिसरलाई पत्र पठाएको थियो।

तर, त्यति बेला सामान्य रुपमा लिइए पनि पछिल्लो पटकको व्यवहारले उनीहरु यो शंकाको घेरामा परेका हुन्। भुटानमा भएको विश्वकप छनोटको दोस्रो चरणको खेलमा पनि कुवेतले थिम्पु रंगशालामा सबै टिकट किनेर भुटानीलाई दिने प्रयास गरेको थियो। तर, अन्तर्राष्ट्रिय मान्यता अनुसार पाहुना टिमले केही प्रतिशत मात्र टिकट खरिद गर्न पाउने नियम भएकाले उनीहरु पछि परेका थिए।

नेपाल र भुटानमा खेल्न नचाहने कुवेतले खेललाई आफ्नो पक्षमा पार्न जे पनि गर्न सक्ने आंशकका कारण कतै त्यो जालमा उनीहरु पनि परेका छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको छ। जसका लागि उनीहरुको बयान लिइएको छ भने सबै तथ्यहरुको खोजी भइरहेको छ।

एन्फाले काठमाडौंमा रहेका पदाधिकारीहरु, अनुशासन समिति, रेष्टुरेन्ट सञ्चालकलाई बोलाएर यस विषयमा छलफल गर्ने भएको छ। त्यसबाट आएको निष्कर्षका आधारमा थप कारबाही प्रक्रिया अघि बढाउने प्रशिक्षक महर्जनले बताए।

प्रकाशित मिति: : 2019-11-25 08:29:52

प्रतिकृया दिनुहोस्